Translate

Sunday, October 19, 2025

बाढी तथा डुवान प्रभावित १२५ घरपरिवारलाई बागमती सेवा समाजद्वारा राहत



मधेशदूत समाचारदाता---
हरिवन(सर्लाही),कार्तिक २

    सर्लाहीको हरिवनमा अवस्थित बागमती सेवा समाजले बाढी तथा डुवानबाट प्रभावित १२५ घरपरिवारलाई राहत वितरण गरेको छ। गत असोज १५ देखि १८ गतेसम्म परेको अविरल वर्षाका कारण हरिवन नगरपालिकाका विभिन्न वडाहरूमा बाढी तथा डुवानको प्रभाव परेको थियो।
  समाजका कार्यक्रम प्रमुख भरत  कुमार कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ४ का १५, वडा नम्बर ६  चार्लिक, झल्ला र गुम्बाटोलका ६२ तथा वडा नम्बर १० का ताइवान टोलका ४८ गरी कुल १२५ घरपरिवारलाई राहत वितरण गरिएको समाजका कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले जानकारी दिए।
  वितरण गरिएको राहत सामग्रीहरुमा प्रति परिवार चामल २५ किलो, दाल ४ किलो, नुन २ किलो, तेल ३ लिटर, चिनी २ किलो र सोयाबिन आधा किलोको दरले उपलब्ध गराइएको समाजकी सामुदायिक परिवर्तन सहजकर्ता विधा पौडेलले जनाएको छ।
   वि.सं. २०५० मा बागमती नदीले पुर्‍याएको क्षतिपछि बाढी पीडितहरूको उद्धारका लागि गठन गरिएको बागमती सेवा समाज २०५२ सालमा जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भई औपचारिक रूपमा क्रियाशील रहदै आएको छ।
   समाजले विगत तीन दशकदेखि सर्लाहीसहित मधेश, कोशी र बागमती प्रदेशका ११ जिल्लामा शिक्षा, स्वास्थ्य, सरसफाइ, सीप विकास, भौतिक पूर्वाधार, सुशासन र विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ।
   राहत वितरण कार्यक्रममा वडा जनप्रतिनिधि सन्तलाल स्याङ्तान, अजय महतो, मिरा मिक्चन, रामाधिन महतो, नेपाल प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
राहत सामाग्री पाए पछि बिपद र बाढि तथा डुवान मा परेर चाड पर्ब को बेला के खाउ कसरि परिवार धान्नु भनेर चिन्ता मा परेका प्रभाबित परिवार मा खुसि ले मुहार छाएको थियो ,यसै बिच हामि दुखि गरिब र पिडा मा परेका हरुको लागी समाज भगवान नै बनेर आएको भन्दै हरिवन नगरपालिका वडा नम्बर चार गैरि टोल का बिर बाहादुर दोङ्ग ले खुसि ब्यक्त गर्दै संस्था लाई धन्यबाद दिएका  थिए ।
   यसपटकको राहत सहयोग ‘हाम्रो शहर परियोजना’ अन्तर्गत काठमाण्डौं विश्वविद्यालयको प्राविधिक सहयोग र हेल्भेटास नेपालको आर्थिक सहयोगमा प्रदान गरिएको हो।
  हरिवनमा करिब दश महिनादेखि सञ्चालनमा रहेको सो परियोजनाले स्थानीय टोल विकास संस्थामार्फत सुशासन, भौतिक पूर्वाधार विकास, सीप विकास, नेतृत्व सुदृढीकरण, क्षमता अभिवृद्धि र सूचना अधिकारसम्बन्धी सचेतना अभिवृद्धिका कार्यहरू गर्दै आएको छ।

No comments:

Post a Comment