Translate

Sunday, October 19, 2025

माटोको पहिचान हराउँदै गएपछि वैकल्पिक पेशा खोज्दै सर्लाहीका कुम्हार समुदाय

 


 



मनोज यादव—
सर्लाही, कात्तिक २

   चाडपर्वको समय, विशेषतः दीपावली र छठ पर्व नजिकिँदा सर्लाहीका कुम्हार समुदाय माटोसँ खेल्न थाल्छन्। बिहानदेखि बेलुकीसम्म घरआँगनमा माटोको भाँडाकुडा, दियो, सर्वा, हात्ती र ढकना जस्ता सामग्रीहरु बनाउन उनीहरू व्यस्त हुन्छन् । तर यो व्यस्तता धेरै दिनसम्म टिक्दैन । चाडबाड सकिएलगत्तै उनीहरू पुन: बेरोजगार हुन्छन् र चुलो पनि चिसो पर्न थाल्छ ।
  पुर्ख्यौली पहिचान र सीपको नास हुँदै गएकोमा कुम्हार समुदाय चिन्तित छन् । “अबका नयाँ पुस्ताले माटोको काम सिक्नै चाहँदैनन्, बजारमा विभिन्न किसिमका  विद्युतिय बत्ती र प्लास्टिकका सामानहरु हावी छन्,” कबिलासी–९, सलेमपुरका कुम्हार कोदई पण्डित भन्छन् ।
   पण्डितका अनुसार, पहिले हरेक घरमा दीपावलीमा माटोको दियो बालिन्थ्यो । अहिले भने रङ–बिरङ्गी झिलिमिली बत्तीले त्यो स्थान लिइसकेको छ । “चाडबाडमा अलिकति बिक्री हुन्छ, तर बाँकी वर्षभर कामै हुँदैन,” उनी थप्छन् ।   कुम्हार समुदायको मुख्य आम्दानी माटोका भाँडाकुडाको बिक्रीमा निर्भर छ । तर मेहनतअनुसार मूल्य नपाउँदा र बजार घट्दै जाँदा उनीहरू वैकल्पिक रोजगारीको खोजीमा लाग्न थालेका छन् । कसैले मजदूरी रोजेका छन् भने कसैले सानातिना व्यापार सुरु गरेका छन् ।
   कुम्हारहरूको पेशा केवल जीविकाको साधन मात्र होइन, संस्कृतिको प्रतीक पनि हो । उनीहरूले बनाएका दियो र कलात्मक माटाका भाँडाहरूले घरमा उज्यालो र सौन्दर्य दुवै ल्याउँछ । तर आधुनिकताको दौडमा यो परम्परा हराउँदै गएको छ ।
  “हामी यो काम छोड्न चाहँदैनौँ, तर पेट पाल्नको लागि  वैकल्पिक उपाय खोज्नैपरेको छ,” स्थानीय एक कुम्हारले दुःखेसो गरे ।
  परम्परागत सीपको संरक्षण र प्रोत्साहन नहुँदा मधेशका धेरै कुम्हार परिवार आज संकटको घेरामा छन् । उनीहरूको पहिचान गुम्दै गएको छ।


No comments:

Post a Comment