Translate

Sunday, October 19, 2025

सर्लाहीका १६ जना युवालाई घाइते परिचयपत्रसहित आर्थिक सहयोग २० हजार

 


मधेशदुत समाचारदाता---
मलंगवा, कात्तिक २

    गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले परिचयपत्र वितरण गर्न थालेको छ।
   सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार गृह मन्त्रालयले सर्लाहीका १६ जना युवाको नाम आन्दोलनका क्रममा घाइतेको रूपमा सूचीकृत गरी पठाएको हो। मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरयुक्त घाइते परिचयपत्र क्रमशः वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए।
   उनका अनुसार पहिलो चरणमा ब्रह्मपुरी गाउँपालिकाका एक घाइते युवालाई परिचयपत्र वितरण गरिएको छ। आन्दोलनमा घाइते भई उपचारपछि घर फर्किएका युवाहरुलाई सरकारले आर्थिक सहयोगस्वरूप थप २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। यो रकम जिल्ला प्रशासन कार्यालयमार्फत छिट्टै वितरण गरिने तयारी गरिएको कार्यालयले जनाएको छ।
  जेनजी आन्दोलनका क्रममा सर्लाहीका लालबन्दी नगरपालिका–५, शान्ति टोलका देवकुमार सुवेदीको ज्यान गएको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार सुवेदीको परिवारलाई तीन साताअघि नै जिल्ला प्रशासन कार्यालय सर्लाहीले १५ लाख रुपैयाँ राहत प्रदान गरिसकेको छ।


No comments:

Post a Comment