Translate

Thursday, October 30, 2025

भाँडसरमा वडास्तरिय बैठकबाट साप्ताहिक सरसफाई कार्यक्रम तय

 

मधेशदूत समाचारदाता––
सर्लाही, कात्तिक १३

   मलंगवा नगरपालिका–५, भाँडसरमा वडाध्यक्ष मो. जुल्फकार अलीको अध्यक्षतामा बुधबार वडास्तरिय बैठक सम्पन्न भएको छ। बैठकमा वडा सदस्य, वडा कार्यालयका कर्मचारी, स्थानीय प्रहरी चौकीका प्रतिनिधि तथा समाजसेवी अञ्जनी कुमार खिडहरीलगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।
   बैठकले वडाको समग्र विकास, सुशासन र सरसफाइ अभियानलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। निर्णयअनुसार वडा कार्यालयमा करार सेवामा कार्यरत स्विपर इन्द्रजित धनकारले सार्वजनिक विदा बाहेकका दिनमा नियमित सरसफाइ गर्ने जिम्मेवारी पाएका छन्।
   फोहोरमैला व्यवस्थापन अन्तर्गत वडाभर साप्ताहिक सरसफाइ तालिका समेत तय गरिएको छ। कार्यतालिका अनुसार आइतवार संजय रायको घरदेखि वडा कार्यालय हुँदै रमेश सहनीको घर र राम गुलाम माध्यमिक विद्यालयसम्म,सोमवार संजय रायको घरदेखि राम जानकी मठ हुँदै मदरसाको पछाडीसम्म,
मंगलवार संजय रायको घरदेखि सिताराम चौकको पूर्वपट्टी टोल हुँदै प्रहरी चौकी र राजीवलोचन मठसम्म, बुधवार सिताराम चौकदेखि नरेन्द्र खिडहरीको घर हुँदै पछियारी टोलको बहिरुदास मठ, ब्रहम बाबा हुँदै स्वास्थ्य चौकीसम्म सरसफाइ गरिने छ।
   त्यस्तै विहीवार घोडदौरी टोल र आसपासका तीन टोलसम्म र शुक्रवार पुरै मुस्लिम टोलमा सरसफाइ कार्य सञ्चालन गरिनेछ।
   समाजसेवी खिडहरीले नियमित सरसफाइ कार्यक्रमले वडामा सफा र स्वस्थ वातावरण कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै स्थानीयबासीलाई पनि सरसफाइ अभियानमा सहकार्य गर्न आग्रह गरेका छन्।

No comments:

Post a Comment