हुलाकी राजमार्गमा शुल्क तिरेर आवतजावत
मधेशदूत समाचारदाता---
सर्लाही, असोज २१
सर्लाहीको कौडेना गाउँपालिका वडा न-३ पर्साटोला नजिक हुलाकी राजमार्गको केही भाग बाढीले बगाएपछि सर्वसाधारणहरु शुल्क तिरेर यात्रा गर्न बाध्य भएका छन्।
गत शुक्रवार र शनिवारको अविरल वर्षाका कारण लखन्देही खोलामा आएको बाढीको भेलले करिब १५० मिटर सडक बगाउँदा पूर्व–पश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको हो। सडक अवरुद्ध भएपछि सोमबार बिहानदेखि स्थानीय युवाहरूले बाँस र पटराको प्रयोग गरेर अस्थायी लच्का निर्माण गरी मानिस, साइकल र मोटरसाइकल वारपार गर्न मिल्ने व्यवस्था मिलाएका छन्। यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले बनाइएको सो लच्का प्रयोगका लागि उनीहरूले शुल्क तोकेका छन्। प्रति मोटरसाइकल १०० रुपैयाँ, साइकल २० रुपैयाँ र पैदल यात्रुका लागि १० रुपैयाँ लिइँदै आएको यात्रुले बताएका छन्।
गोडैता, बलरा, विष्णु, धनकौल र रामनगर क्षेत्रका बासिन्दाहरु सदरमुकाम मलंगवा आउजाउ गर्न सोही हुलाकी राजमार्गको प्रयोग गर्दै आएका छन्।
No comments:
Post a Comment