Translate

Monday, October 6, 2025

विजया दशमी : धार्मिक, संस्कृति र उत्सवको पर्व घटस्थापनादेखि कोजाग्रतसम्म चलेको पर्वले देखायो सामाजिक एकता र आपसी सद्भाव

 


मनोज यादव---
सर्लाही, असोज २१

   सर्लाहीमा हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी यस वर्ष पनि उत्साह र उल्लासका साथ सम्पन्न भएको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चलेको पर्वले जिल्लाभरका गाउँ–शहरमा धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
  पर्वको सुरुवात घटस्थापनादेखि भयो। घरघरमा कलश स्थापना, जमरा रोपण र कलश यात्रासहित कार्यक्रम सञ्चालन गरियो। सप्तमीको दिन माताको झण्डा यात्राले जिल्लाभरको धार्मिक वातावरण झन् जीवन्त बनायो। सदरमुकाम मलंगवा, बरहथवा, हरिवन, गोडैता, हरिपुर र ईश्वरपुरलगायतका बजार क्षेत्रमा भक्तजनहरूको भीड विशेषगरी देखिन्थ्यो। झण्डा यात्रामा हजारौं महिलाहरू परम्परागत पहिरनमा सजिएर सहभागी भए भने पुरुषहरूले पनि सक्रियताका साथ भाग लिए।
   सप्तमी, अष्टमी र नवमीका दिन जिल्लाभरका शक्तिपीठ र मन्दिरहरूमा विशेष पूजा, हवन, बलि र अन्य अनुष्ठान सम्पन्न गरियो। विभिन्न शक्तिपिठ र दुर्गा मन्दिरमा हजारौं भक्तजनहरूको घुइँचो लागेको थियो। अष्टमीको दिन देवीको प्रसन्नताका लागि खसी, बोका, कुखुरा, हाँस र परेवा जस्ता पशुपन्छीहरूको बलि दिइयो। नवमीका दिन हवन, आरती र भव्य पूजाआजा सम्पन्न भयो। सो दिन महिलाहरूले व्रत बसेर देवीको आराधना गरे।
  दशैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा मेला महोत्सव र झिंझिया कार्यक्रम पनि आयोजना गरिएको थियो। महिलाहरू रातभर देवी भजन गाउँदै झिंझिया नाच गरेका थिए भने युवाहरूले देवी गीत र सांस्कृतिक प्रस्तुति दिएका थिए। मेलामा स्थानीय उत्पादन, मिठाई, खेलकुद, परिकार र झूला जस्ता आकर्षणहरूले सबैलाई आकर्षित गरेको थियो।
  दशमीको दिन, बिहानैदेखि घरघरमा दुर्गा भवानीको टीका र जमरा लगाउने क्रम सुरु भयो। अभिभावक र ज्येष्ठ सदस्यहरूले सन्तानलाई टीका लगाएर दीर्घायु र समृद्धिको आशीर्वाद दिए। गाउँ–टोल र बजार क्षेत्रमा पारिवारिक भेटघाट, शुभकामना आदानप्रदान र चहलपहलले दशैंको उत्सव झन् जीवित बनाएको थियो। दशमीको भोलीपल्ट दुर्गा भवानीको विसर्जनसँगै दशैं पर्वको औपचारिक समापन गरिएको छ।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, विजया दशमीका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्। घटस्थापनाको दिनदेखि प्रतिमा विसर्जनसम्म कुनै अप्रिय घटना नभएको र सुरक्षाकर्मीहरू सतर्कताका साथ खटिएका थिए।
  धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने दशैंले यस वर्ष पनि सर्लाहीवासीबीच आपसी सद्भाव, भाईचारा र आत्मीयताको सन्देश फैलाएको छ। पर्वले गाउँदेखि शहरसम्म धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र पारिवारिक प्रेमको गहिरो झल्को दिएको छ।


No comments:

Post a Comment