आज अक्षय नवमी पर्व: अमलाको रुखमुनि बनभोज गरेर मनाइँदै
मधेशदूत समाचारदाता---
सर्लाही,कात्तिक १३
सर्लाहीसहित मधेश प्रदेशका सबै जिल्लाहरुमा आज अक्षय नवमी पर्व मनाइँदै छ। धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।
यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने परम्परा छ । यसदिन बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले सोही ठाउँमा र नहुनेले वनक्षेत्रका गएर अमलाका रुखमुनि वनभोज गर्छन् ।
यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने परम्परा रहेको जानकारहरु बताउँछन् । यसदिन अमलाका विशेष परिकारहरु जस्तै अचार, मुरब्बा र चटनीसहित अन्य विशेष शाकाहारी खानेकुरा मात्र खाइन्छ । अब चिसो मौसम बढ्दै जाने भएकोले दैनिक खानामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश दिनको लागि पनि यो पर्व मनाउने गरिएको संस्कृतिविज्ञ उग्रकान्त झाले बताए ।
खासगरी बालबालिका तथा किशोर-किशोरी र युवाहरु वनभोजको रमाइलो गर्न आज बिहानैदेखि वनक्षेत्र,पार्क र विभिन्न वनभोज स्थल पुगेका छन् । यो पर्वमा महिलाहरु दिनभरी भगवान विष्णुको आराधना गर्दै ब्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गर्ने परम्परा रहेको संस्कृतिविज्ञ झाले बताए ।
सहभोज खासगरी साँझपख गरिने र परिवारका सबै सदस्यहरु सहभागी हुने हुँदा धेरैजसोले आफ्नै घरआँगन तथा नजिकको बगैँचामा सहभोजको आयोजन गर्ने गरेको स्थानीय ज्योतिष प्रभाकर झा बताउँछन् ।
मिथिलाञ्चलमा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिन्छ । जानकारहरुका अनुसार कात्तिक शुक्ल नवमीकै दिन द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशबध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन यसलाई धातृनवमी भनिएको हो।
No comments:
Post a Comment