Translate

Monday, October 13, 2025

प्रत्येक वर्ष बाढी र डुबानको समस्या झेल्दै लखनदेही खोला छेउका वासीन्दाको पीडा

 


मनोज यादव––
सर्लाही, असोज २७

    पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण सर्लाहीका विभिन्न क्षेत्रमा बाढी र डुबानको समस्या दोहोरिएको छ। सर्लाहीमा मात्रै यस वर्ष करिब १,६०० घरपरिवार प्रभावित भएका छन् भने सयौँ परिवार विस्थापित भएका छन्। तर, वर्षेनी दोहोरिने बाढी र डुबान समस्याप्रति तीनै तहका सरकारको ध्यान नपुगेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
   लगातार दुई दिनसम्म परेको वर्षाले सर्लाहीको पूर्वी र पश्चिमी क्षेत्रका बस्तीहरू जलमग्न भएका छन्। धेरै ठाउँमा सडकहरू भत्किएर क्षतविक्षत बनेका छन्। गत वर्ष लखनदेही नदीमा आएको बाढीले लाखौंको क्षति पुर्‍याएको मलंगवा नगरपालिका–५ भाँडसर, वडा नं–६ खुटौना, कौडेना गाउँपालिकाको शिवनगर र छपकैया बस्तीमा यस वर्ष पनि दर्जनौं घर र गोठ डुबानमा परेका छन्।
    बाढीका कारण खेतीयोग्य सयौं विगाह जमिनमा पानी जमेको छ भने कयौँ घरमा पानी पस्दा जनजीवन अस्तव्यस्त बनेको छ। दर्जनौं कच्ची घरहरू भत्किएका छन्। गाउँको पश्चिम भाग हुँदै बग्ने लखनदेही नदीमा आएको बाढीले सिंगो शिवनगर गाउँलाई टापुमा परिणत गरेको छ। गाउँबाट बाहिरिने बाटो अवरुद्ध भएपछि स्थानीयहरूलाई दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत खोला तरेर आवतजावत गर्नुपर्ने बाध्यता बनेको छ।
   स्थानीयवासीहरूका अनुसार हरेक वर्ष बाढीले विस्थापन र क्षति दोहोरिए पनि सरकारले दीर्घकालीन समाधानको पहल नगरी राहत वितरणमै सीमित हुने गरेको गुनासो छ। उनीहरूले बाढी समस्या समाधानका लागि तटबन्ध निर्माण, नदी व्यवस्थापन र स्थायी पूर्वाधार निर्माण जस्ता दीर्घकालीन उपाय तत्काल अपनाउन माग गरेका छन्।
    वर्षेनी बाढी र डुबानले थलिएका जनताको पीडा अब केवल राहत र आश्वासनले मेटिने अवस्था छैन, उनीहरूका अनुसार अब सरकारको ठोस र दिगो हस्तक्षेप अपरिहार्य बनेको छ।


No comments:

Post a Comment