नेपाली काँग्रेसको हस्ताक्षर अभियान: सर्लाहीमा नियमित महाधिवेशनको पक्षमा ६० प्रतिशत भन्दा बडी समर्थन
मधेशदूत समाचारदाता----
सर्लाही, असोज २८
नजिकिँदै गरेको शुभ दीपावली र छठ पर्वको अवसरमा नेपाली काँग्रेस सर्लाही क्षेत्र नं–२ द्वारा सोमबार मलंगवा स्थित जानकी पार्टी प्यालेसमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टी संगठन र आगामी महाधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ। कार्यक्रम नेपाली काँग्रेस सर्लाही क्षेत्र नं–२ का सभापति तथा निवर्तमान श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा देशको वर्तमान राजनीतिक परिस्थिति र पार्टी संगठन सुदृढीकरणका विषयमा छलफल गर्दै पार्टीभित्र नयाँ युवाहरूको सहभागिता सुनिश्चित गर्न १५औँ नियमित महाधिवेशन नै आवश्यक भएको निष्कर्ष निकालिएको छ। बैठकले विशेष महाधिवेशनमा नगई नियमित महाधिवेशनको पक्षमा सर्वसम्मत निर्णय गरेको छ।
क्षेत्रीय सभापति रायले सर्लाहीमा केही नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाए पनि त्यसमा धेरै फर्जी हस्ताक्षर भएको दाबी गर्दै, पार्टीको एकता र अनुशासनका लागि नियमित प्रक्रियाबाटै अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “पूर्व सभापति सुरेन्द्र प्रसाद सिंहको समूह अहिले गगन थापाको पक्षमा खुलेर लागेको छ, तर सर्लाहीमा नियमित महाधिवेशनको समर्थन व्यापक छ।”नियमित महाधिवेशनको पक्षमा ६० प्रतिशत भन्दा बडी समर्थन जुटेको छ।
पूर्व सभापति सिंहको घरमा केही दिन अगाडी विशेष महाधिवेशनका पक्षधरहरुको बैठक बसेको थियो। उक्त बैठकमा पुर्व सभापति नागेन्द्र कुमार राय, प्रदेश सांसद जंगिलाल राय, पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ र उपसभापति डा.सरोज कुमार यादव लगायत संस्थापन पक्षका नेताहरुको उपस्थिति रहेका थिए। सिंहले सर्लाहीमा ७० प्रतिशत विशेष महाधिवेशनमा भएको दाबी गरे पनि धेरै फर्जी हस्ताक्षर भएको क्षेत्रीय सभापति रायले दाबी गरेका छन् ।सर्लाहीमा पूर्व सभापति लक्ष्मण राय डा.शेखर कोइराला समुहमा नियमित महाधिवेशनको पक्षमा खुलेर लागेका छन् । लक्ष्मण समुहबाट दुई वटा क्षेत्रीय सभापतीहरु रहेका छन्। सर्लाहीमा कोइराला समुह बाट १४ औं महाधिवेशन मा निर्वाचित क्षेत्र न- १ बाट हरी बहादुर लुंगेली र क्षेत्र न-२ बाट प्रदेश सांसद कौशल किशोर राय समापतिमा निर्वाचित भएको थियो । सांस्थापक पक्ष बाट क्षेत्र न-३ बाट पुण्यबहादुर घिमिरे र ४ बाट राम आश्रय साह निर्वाचित भएका थिए।
उता नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि बद्रीनारायण प्रसाद चौधरीले विशेष महाधिवेशनको मागमा भुलवश हस्ताक्षर भएको बताउँदै त्यस अभियानप्रति आफ्नो असहमति प्रकट गरेका छन्। उनले भने, “म पार्टीको आन्तरिक विषयहरू संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने पक्षमा छु, त्यसैले नियमित महाधिवेशनको समर्थन गर्छु।”
मलंगवा-१० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा पूर्व सभापति लक्ष्मण राय, जयहरि श्रेष्ठ, ब्रम्हनारायण चौधरी, सियाराम राय लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सञ्चालक विरन्ची प्रसाद साहका अनुसार बैठकमा सर्वसम्मतबाट विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन गर्ने,युवा सहभागीता बढाउँदै संगठन पुनर्जागरण अभियान सञ्चालन गर्ने,क्षेत्रभर अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको र पार्टीका दिवंगत नेता उपेन्द्र रामप्रति श्रद्धाञ्जली तथा शोक प्रस्ताव पारित गर्ने निर्णयहरु गरिएका छन् ।
No comments:
Post a Comment