Translate

Monday, October 13, 2025

छोरीको बिहेका लागि निकालिएको रकम प्रहरीले लिएपछि परिवारमा खुसीको साटो आँसुले भरियो पिडित परिवारको पीडामा मलंगवाको सडक ततियो

  



मनोज यादव----
सर्लाही, असोज २८

   छोरीको विवाहको तयारीमा जुटेकी चन्द्रनगर गाउँपालिका–५ मोहनपुरकी अपसाना खातुन अहिले असहाय बनेकी छिन्। विवाह नजिकिँदै गर्दा सामान खरिद गर्नका लागि मलंगवास्थित बैंकबाट निकालेको पैसा प्रहरीद्वारा नियन्त्रणमा लिइनु र परिवारका सदस्य पक्राउ पर्नुले उनको घरमा खुसी साटिनु पर्ने बेला करुणा र आँशुले भरिएको छ।
   खातुनले आइतवार कुमारी बैंक, मलंगवा शाखाबाट ५ लाख ४५ हजार रुपैयाँ चेकद्वारा निकालेकी थिइन्। ती रकम आफ्ना जेठाजुको जिम्मा लगाई सोनबर्सा बजारबाट छोरीको विवाहका लागि आवश्यक सामग्री खरिद गरी फर्कंदै गर्दा ब्रह्मपुरी गाउँपालिका–३ त्रिभुवननगर प्रहरी चौकीमा प्रहरीद्वारा जाँचका नाममा नियन्त्रणमा लिइएको उनको भनाइ छ। उनले भनिन्, “बैंकको स्टेटमेन्ट र चेकको प्रमाण देखाउँदा पनि प्रहरीले रकमसहित जेठाजुलाई छोड्न मानेको छैन । हामी निर्दोष हौँ भन्ने प्रमाण बोकेर पनि दोषी बनाइएको छ।”
   यस घटनाले सोमबार सर्लाहीमा स्थानीयवासीलाई सडकमा उत्रन बाध्य बनाएको छ। जिल्ला प्रशासन कार्यालय नजिक सहिद चौक (जिविस चौक)मा सयौं मानिसहरुले टायर बाल्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले “पीडितलाई न्याय दे, निर्दोषलाई तुरुन्त छोड” भन्दै नारा लगाएका थिए।
   खातुनले दुखेसो पोख्दै भनिन्, “श्रीमान् खाडीमा पसिना बगाएर पठाएको पैसा प्रहरीले लिएपछि  असोज ३० गतेको लागि तय भएको छोरीको विहे कसरी गर्ने, तर हातमा पैसा छैन, जेठाजु पनि प्रहरीको हिरासतमा  छन्।”
उनका अनुसार प्रहरी प्रशासनले जेठाजुलाई छोड्ने सर्तमा सोही बराबरको रकम घरौटीका रूपमा बुझाउन दबाब दिएको छ।
  पुर्व संघीय सांसद प्रमोद साहले घटना प्रति  आक्रोश पोख्दै भने, “यो कस्तो न्याय हो ? जसको पैसा हो, उसैलाई अपराधी बनाउने ?”


  घटनाले स्थानीय समुदायमा गहिरो असन्तोष पैदा गरेको छ। विवाहको तयारीमा रहेको परिवार अहिले न्यायको प्रतीक्षामा छ। खुशीको मौकामा घर शोक र अन्यायको पीडाले भरिएको छ।
  


No comments:

Post a Comment