भाँडसर स्थित लखनदेही खोलामा डुबेर एक किशोरको मृत्यु
मधेशदूत समाचारदाता---
सर्लाही, असोज २२
सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलवार बिहान करिब साढे ११ बजे स्थानीय चार जना किशोरहरु खोलामा नुहाउने क्रममा विनोद ठाकुरका १८ वर्षिय छोरा ओम ठाकुरको बगाएर मृत्यु भएको हो। ठाकुरसँगै नुहाइरहेका अन्य तीनजना भने सकुशल बाहिर निस्किन सफल भएका थिए।
खोलाले बगाएर मानिस बेपत्ता भएको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी भाँडसरबाट खटी गएका प्रहरी टोली र स्थानीयहरु मिलेर खोजतलासी गर्ने क्रममा करिब १ बजे खोलाको बाँध नजिकै पानीको सतहमाथि ठाकुरको शरिर तैरिरहेको अवस्थामा फेला पारिएको थियो।
खोलाबाट उद्धार गरि तुरुन्त उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा स्वास्थ्य परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषित गरेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए।
No comments:
Post a Comment