फूलपरासीमा बाँसको लच्का तरे बापत पैसा असुलेपछि चौतर्फी आलोचना, स्थानीय प्रशासन द्वारा पैसा उठाउने कार्यमा रोक
मनोज यादव---
सर्लाही, असोज २२
बाढीले सडक बगाएपछि आवतजावत सहज बनाउन फूलपरासीमा स्थानीय युवाहरुले बनाएको बाँसको लच्का विवादको कारण बनेको छ। लच्का तरे वापत यात्रुसँग शुल्क असुलेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार बेलुकादेखि पैसा उठाउने कार्य बन्द गराएको छ।
गत शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिका वडा न–३, पर्सा टोल नजिकको पूर्व–पश्चिम हुलाकी सडकको करिब १५० मिटर भाग बगाएको थियो। सडक बग्दा कौडेना, बलरा, गोडैता, विष्णु, धनकौल र रामनगर क्षेत्रका बासिन्दालाई सदरमुकाम मलंगवा आउजाउ गर्न समस्या भएको छ।
सडक अवरुद्ध भएपछि स्थानीय युवाहरुले सोमबार बिहानदेखि बाँस र पटाको अस्थायी लच्का तयार गरी मानिस, साइकल र मोटरसाइकल तार्ने व्यवस्था गरेका थिए। उक्त लच्का पार गर्न पैदल यात्रुबाट १० रुपैयाँ, साइकलबाट २० रुपैयाँ र मोटरसाइकलबाट १०० रुपैयाँ लिइँदै आएको थियो। शुल्क असुलिएको खबर सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले तत्काल कारबाही गर्दै पैसा उठाउने कार्य रोक्न आदेश दिएका हुन्।
यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा मंगलबार बिहान नयाँ अस्थायी लच्का निर्माण गरी आवतजावत सहज बनाइएको प्रशासनले जनाएको छ।
यता, हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोको टोली मंगलबार घटनास्थल पुगेर निरिक्षण गरेका थिए । निरिक्षण गर्दै महतोले तत्काल नजिकै डाइभर्सन निर्माण गरेर सवारी साधन आवत–जावतको व्यवस्था मिलाएर सडक निर्माणको काम अघि बढाइने बताएका थिए ।
No comments:
Post a Comment