Translate

Thursday, October 16, 2025

मलंगवामा सम्पन्न झिझिया महोत्सवका सहभागी कलाकारलाई सम्मान



मधेशदूत समाचारदाता—
सर्लाही, असोज ३०

   दुर्गा पुजाको अवसरमा हिन्दु सम्राट सेना नेपालले श्री दुर्गा पूजा समिति, मलंगवा नगरपालिका–१० को सह–आयोजनामा सञ्चालन गरेको झिझिया महोत्सवमा सहभागी कलाकारहरूलाई सम्मान गरिएको छ।
   असोज ११ गतेदेखि असोज १५ गतेसम्म तीनबिधे मैदानमा आयोजना गरिएको झिझिया महोत्सवमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने कलाकारहरूलाई बुधबार मलंगवा–८ स्थित कुसुम पार्टी प्यालेसमा आयोजित विशेष समारोहमार्फत प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो।
   हिन्दु सम्राट सेनाका राष्ट्रिय उपाध्यक्ष कृष्णा यादवका अनुसार परापूर्वकालदेखि चल्दै आएको मधेशको मौलिक लोकसंस्कृति झिझिया गीत तथा नृत्य पछिल्ला वर्षहरूमा आधुनिकताको प्रभावले लोप हुने अवस्थामा पुगेको छ। संस्कृतिलाई जोगाउन र नयाँ पुस्तालाई यसको महत्व बुझाउनका लागि गत वर्षदेखि मलंगवामा झिझिया समारोहको आयोजना गर्न थालिएको उनले बताए।
  महोत्सवमा मिथिला टिम, सन्तोषी टिम, वैष्णवी टिम, आश्रम टिम, माँ वैष्णोदेवी टिम, हरिपुर टिम, कालरात्री टिम, माँ दुर्गा टिम “ए”, माँ दुर्गा टिम “बी”, राजदेवी टिम, लक्ष्मी टिम, दुर्गा भवानी टिम, जय मातादी टिम, चलेमी टिम “ए”, चमेली टिम “बी” र सरस्वती टिमले सहभागिता जनाएका थिए।
आयोजक समितिले सबै सहभागी टोलीलाई प्रमाणपत्रसहित नगद प्रदान गर्दै पुरस्कृत गरेको छ।

   प्रतियोगिता अवधिभर संचारकर्मी द्वय विश्वनाथ ठाकुर , मिरा रानी र शिक्षक विभाष कर्णले निर्नायकको जिम्मेवारी सम्हालेका थिए।


No comments:

Post a Comment