Translate

Wednesday, October 15, 2025

आर.आर.पी.के.द्वारा परियोजना मूल्यांकन र सामाजिक परीक्षण कार्यक्रम सम्पन्न १३ करोड बढी बजेट खर्च

  


मधेशदूत समाचारदाता
सर्लाही, असोज ३०

     राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) ले सर्लाहीको सदरमुकाम मलंगवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनाको कार्यसम्पादन, मूल्यांकन, जवाफदेहिता र मापदण्डबारे सरोकारवालाहरूसँग प्रतिवेदन प्रस्तुत गर्दै सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यक्रम निर्देशक शिवजी साहले जानकारी दिए।
    जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा तथा संस्थाकी अध्यक्ष गायत्री देवी महतोको अध्यक्षतामा मलंगवा–१० स्थित मलंगवा पार्टी प्यालेसमा बुधबार कार्यक्रम सम्पन्न भएको हो।
   कार्यक्रममा कार्यक्रम निर्देशक शिवजी साहले २०८१/०८२ आर्थिक वर्षमा सञ्चालन भएका विभिन्न परियोजनाको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सञ्चालन गरेका योजनाहरूको प्रगति र उपलब्धिहरूबारे विस्तृत जानकारी गराए। उनका अनुसार संस्थाले हरिपुर्वा, पर्सा, चन्द्रनगर, ब्रम्हपुरी, बलरा, गोडैता, कौडेना, बसबरिया, धनकौल, चक्रघट्टा र पर्सा लगायतका स्थानीय तहमा विभिन्न दातृ संस्थाहरू  वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल, बलरा नगरपालिका र पर्सा गाउँपालिकाको सहकार्यमा ‘सिकाइ प्लस’, ‘पोषण तथा उत्थानशील जीविकोपार्जन’, ‘उज्यालो सर्लाही’, ‘बाल संरक्षण’, ‘समुन्नति’ र ‘आभा’ जस्ता परियोजनाहरू सञ्चालन गरेको जानकारी दिए।
    साहका अनुसार यी परियोजनाहरूबाट १८ वर्ष मुनिका बालबालिका, किशोर–किशोरी, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा अल्पसंख्यक समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
   कार्यक्रममा सहभागी लक्षित समूहका सदस्यहरू र सरोकारवालाहरूले संस्थाले कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सञ्चालन गर्दै आएका कार्यक्रमहरू प्रभावकारी र उपलब्धिमूलक रहेको बताएका छन्। महिलाहरू समूहमा आबद्ध भएर कृषि व्यवसायमा सक्रिय भई आर्थिक रुपमा सशक्त बनेको बताएका थिए। सहभागीहरूले संस्थाका क्रियाकलापको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझावसमेत दिएका छन्।
   वि.सं. २०६१ सालमा स्थापना भएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले समावेशी, न्यायपूर्ण र आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यका साथ सर्लाहीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, बालअधिकार प्रवर्द्धन, लैङ्गिक समानता र सामाजिक समावेशीकरणजस्ता क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग साझेदारीमा काम गर्दै आएको छ।
   संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा जम्मा १३ करोड ७४ लाख ९७ हजार ३९३ रुपैयाँ खर्च गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
    कार्यक्रम शिक्षक सुनिल ठाकुरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहा, बलरा नगरपालिका प्रमुख रामशंकर प्रसाद कुशवाहा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख उपेन्द्र सिंह, ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत, आर.आर.पी.के. का उपाध्यक्ष बजरंग प्रसाद साह, कोषाध्यक्ष पिंकी साह, बलरा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी, कृषि ज्ञान केन्द्र मलंगवाका नरेन्द्र प्रसाद पटेल, परियोजना सञ्चालन भएका पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका शाखाका शाखा प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवाला, पत्रकार तथा संस्थाका कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।


No comments:

Post a Comment