Translate

Thursday, October 16, 2025

सर्लाहीको बागमतीमा अत्याधुनिक आँखा अस्पताल सञ्चालनमा उद्घाटनसँगै निशुल्क शिविरमार्फत ३६१ जनाको मोतियाबिन्दु शल्यक्रिया



मधेशदूत समाचारदाता––
सर्लाही, असोज ३०

    सर्लाहीको बागमती नगरपालिका–१२, कर्मैया स्वास्थ्य चौकी भवनमा अत्याधुनिक सुविधा सम्पन्न आँखा अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ । क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती सञ्चालनमा आएको हो ।
    बिहीबार सम्पन्न उद्घाटन कार्यक्रममा बागमती नगरपालिका स्वास्थ्य  शाखा संयोजक पदम बहादुर रायमाझीले यस अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आँखाको उपचारका लागि अब टाढा धाउनु नपर्ने बताएका छन् । उनका अनुसार, करिब एक करोड ३० लाख रुपैयाँको लागतमा बनेको यस केन्द्रमा कम्प्युटर प्रणालीबाट आँखा जाँच, चस्मा निर्माण तथा वितरण, मोतियाबिन्दु शल्यक्रिया लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछन् ।
    सहयोगी संस्था क्योर ब्लाईन्डनेस संस्थाकी  नेपाल डाइरेक्टर पुनम भण्डारीका अनुसार, केन्द्रमा एउटा ओपीडी, औषधी तथा चस्मा पसल, र शल्यक्रिया कोठासहित अत्याधुनिक उपकरणहरू जडान गरिएको छ ।
   उद्घाटन समारोहसँगै आयोजना गरिएको निशुल्क आँखा शिविरमा १,७०४ जनाले आँखा परीक्षण गराएका थिए भने तिनमध्ये ३६१ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखा प्रमुख रायमाझीले जानकारी दिए । असोज २५ गतेदेखि सञ्चालन गरिएको उक्त शिविरमा बागमतीसँगै बरहथवा, चन्द्रपुर (रौतहट) लगायत आसपासका क्षेत्रका नागरिकको सहभागिता रहेको थियो ।
    शिविरमा तिलगंगा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. श्याम ब्यासको नेतृत्वमा २२ जनाको चिकित्सक टोली खटिएको नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिए ।
   नयाँ केन्द्रमार्फत गाउँमै आँखा उपचार सेवा पाउँदा अत्यन्त खुसी लागेको ७५ वर्षीया बिबी कुमारी मोक्तानले बताइन् । उनका अनुसार, पहिले उपचारका लागि टाढासम्म जानु पर्ने बाध्यता अब अन्त्य भएको छ ।
    शिविर समापन तथा उद्घाटन कार्यक्रममा बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामा, कार्यवाहक उपमेयर रुपा बम्जन, सामाजिक अभियन्ता भरत कुमार थापा, जनप्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
। ।नगरपालिकाले विगत नौ वर्षदेखि निरन्तर रुपमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै मोतियाबिन्दु रोगीहरूलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।


No comments:

Post a Comment