सडकमा चौपाया छाड्नेहरूलाई कारबाही हुने , मलंगवा वडा न-१० को चेतावनी
मधेशदूत समाचारदाता---
सर्लाही, भदौ २४।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. १० ले सार्वजनिक स्थान तथा सडकमा जथाभावी रूपमा गाई, भैंसी, बाख्रा लगायतका चौपाया छाड्ने पशुपालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
वडा कार्यालयले पशुचौपायाका कारण जनस्वास्थ्य, सरसफाइ तथा सवारी आवागमनमा गम्भीर समस्या देखिएको भन्दै सात दिने सार्वजनिक सूचना जारी गर्दै व्यवस्था गर्न निर्देशन दिएको छ।
वडाध्यक्ष मुकेश कुमार झाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, निर्धारित समयसीमाभित्र चौपायाको उचित व्यवस्था नगरिएमा ती पशु नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
"वडामा सार्वजनिक सरसफाइ कायम राख्न र सवारी दुर्घटनाबाट सुरक्षा गर्न यस्तो निर्णय लिइएको हो," वडाध्यक्ष झाले मधेशदूतसँग बताए।
स्थानीयबासीले समेत सडकमा खुला चौपाया छाडिनुका कारण दुर्घटना जोखिम बढेको भन्दै पटक–पटक गुनासो गर्दै आएका थिए। वडा कार्यालयको यो कदमलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
No comments:
Post a Comment