विजया दशमीको पहिलो दिन मलंगवासहित सर्लाहीका विभिन्न क्षेत्रमा भव्य कलश शोभा यात्रा निकालियो
मधेशदूत समाचारदाता---
सर्लाही, असोज ७
विजया दशमीको पहिलो दिन सर्लाहीका विभिन्न क्षेत्रमा कलश शोभा यात्रा निकालिएको छ।
हिजो घटस्थापनाको अवसरमा मलंगवाको वडा न-८ स्थित नगरपालिका कार्यालय अगाडिको श्रीराम मन्दिर, वडा न-१० स्थित तिनबिघे मैदानमा नवनिर्मित दुर्गा मन्दिर र शिवसागर चौकमा बनाइएको पण्डालबाट हजारौं कन्याहरुले कलश यात्रा निकालेर नजिकैको पोखरीबाट घैलामा जल भरेर नगर परिक्रमा गरि पुनः मन्दिर तथा प्रतिमा स्थलमा पुगेर यात्रा सम्पन्न गरेका थिए।
विभिन्न धार्मिक झाँकी र बाजागाजा सहित निकालिएको कलश यात्रामा महिला, पुरुष र बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो।
हिन्दू परम्परा अनुसार नवरात्रको पहिलो दिनमा देवी दुर्गाको पूजा–अर्चना गरी कलश स्थापना गर्ने चलन रहेकाले यो शोभा यात्राले धार्मिक महत्व बोकेको बताइन्छ। पुजारी तथा धार्मिक अगुवाहरुले यसलाई सामाजिक एकता र श्रद्धालुबीच धार्मिक उत्साह बढाउने अवसरका रूपमा व्याख्या गरेका छन्।
विगतका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले यस वर्ष सुरक्षा व्यवस्थामा विशेष चासो दिएको थियो। मलंगवाका संवेदनशील स्थानहरूमा ठुलो संख्यामा शुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो। सुरक्षाकर्मी खटाइएपछि कलश यात्रा शान्तिपूर्ण ढंगले सम्पन्न भएको प्रशासनले जनाएको छ।
No comments:
Post a Comment