जेनजी आन्दोलनको क्रममा सर्लाहीमा ६३ करोड बढीको क्षति ६ वटा पालिकामा पूर्ण क्षति,२ वटामा आंशिक र ३ वटा पालिकामा सामान्य क्षति
मनोज यादव---
सर्लाही, असोज ७
जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा सर्लाहीमा ६३ करोड ५५ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा पूर्ण क्षति ४७ करोड २० लाख, आंशिक क्षति १४ करोड ३० लाख र सामान्य क्षति दुई करोड पाँच लाख रुपैयाँ बराबरको भएको छ।
क्षतिको प्रारम्भिक विवरणअनुसार जिल्लाका २० स्थानीय तहमध्ये छवटा पालिकामा पूर्ण क्षति, दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी क्षति लालबन्दी नगरपालिकामा भएको छ, जसको मूल्य करिब १७ करोड रुपैयाँ बराबर रहेको प्रशासनले जनाएको छ । त्यस्तै, ईश्वरपुरमा १२ करोड, बरहथवामा १० करोड, हरिपुरमा दुई करोड ७५ लाख, हरिपुर्वामा दुई करोड ४४ लाख र चन्द्रनगरमा तीन करोड एक लाख बराबरको क्षति भएको छ ।
आंशिक क्षति पुगेका स्थानीय तहमा हरिवन नगरपालिकामा १० करोड चार लाख र बागमती नगरपालिकामा तीन करोड ७५ लाख बराबरको क्षति पुगेको छ भने सामान्य क्षति भएका पालिकामध्ये ब्रह्मपुरीमा १६ लाख, मलङ्गवामा छ लाख र पर्सा गाउँपालिकामा १२ लाख रुपैयाँ बराबरको क्षति पुगेको जिप्रकाको विवरणमा उल्लेख छ ।
त्यसैगरी, प्रादेशिक तथा संघीय कार्यालयमा समेत क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ कृषि ज्ञान केन्द्र मलंगवामा १५ लाख, संघीय कार्यालयतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ सर्लाहीमा ४८ लाख र हुलाक कार्यालय लालबन्दीमा तीन लाख बराबरको क्षति भएको जनाइएको छ ।
नेपाल प्रहरीका विभिन्न युनिटमा एक करोड ४५ लाख, सशस्त्र प्रहरीका चेकपोष्टमा छ लाख र सर्लाही जिल्ला अदालतमा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिप्रकाले जनाएको छ ।
प्रशासनका अनुसार निजी सम्पत्तिमा भएको भौतिक तथा आर्थिक क्षतिको विवरण संकलन कार्य अझै जारी छ । यसैबीच, स्थानीय प्रहरी र प्रशासनले आन्दोलनका नाममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूको पहिचानका लागि फोटो र भिडियो संकलन गर्ने काम सुरु गरिसकेको जनाएको छ ।
दोषीलाई कानूनी कारबाही गर्न आवश्यक प्रमाण संकलन भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले जनाएको छ ।
No comments:
Post a Comment