सेवा निर्वाहको क्रममा मृत्यु भएका शिक्षकको परिवारलाई साथीहरूले गरे ५ लाख नगद सहयोग
मधेशदूत समाचारदाता---
सर्लाही ,असोज १२
करिब डेढ महिना अगाडि ताप्लेजुङमा सेवा निर्वाहको क्रममा निधन भएका सर्लाहीको कौडेना गाउँपालिका वडा न-२ फुलपरासी निवासी शिक्षक राजेन्द्र राय यादवको परिवारलाई उनका साथीहरूले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि साथीहरूले संकलन गरेको पाँच लाख र मृतक यादवको तलब भत्ताबापत प्राप्त दुई लाख रुपैयाँसहित सात लाख रुपैयाँ उनका छोराछोरीको संयुक्त नाममा साढे छ वर्षका लागि मुद्धती खातामा राखिएको हो । आर्थिक अवस्था कमजोर र बच्चाहरू पनि सानै उमेरका भएकाले सहयोग गरिएको साथी राकेश यादवले जानकारी दिए ।
तेह्र वर्षसम्म मलंगवा नगरपालिका वडा न-४ मा रहेको विद्या सागर इंग्लिस बोर्डिङ स्कुलमा अध्यापन गरेका यादवको छोराछोरीलाई उक्त विद्यालयले निःशुल्क पढाउने घोषणा पनि गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल अखिलेश्वर यादव र अर्का संस्थापक शिवेन्द्र महतोले हाम्रो विद्यालय भविष्यमा कक्षा १० वा १२ सम्म विस्तार भए पनि यादवका बच्चालाई कुनै शुल्क नलाग्ने बताएका छन्।
त्यसैगरी चक्रघट्टा गा.पा-२ बेल्हीका राकेश कुमार साहले पनि छोराछोरी १६ वर्ष नहुँदासम्म प्रतिमहिना दुई हजार एक सय रुपैयाँ खातामा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।
साउन २४ गते ताप्लेजुङको देउराली आधारभूत विद्यालयमा कार्यरत रहँदा हृदयघातका कारण शिक्षक यादवको निधन भएको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
सहयोग कार्यक्रममा यादवका गुरु रामउचित राय, मेथल प्रसाद यादव, विद्यासागर विद्यालयका संस्थापकहरू, साथी राकेश यादव, सुनिल ठाकुर, राजेश यादव, अमोद यादव, विनय साह, सुरेन्द्र पटेललगायतले सहभागिता जनाएका थिए ।
No comments:
Post a Comment