सर्लाहीमा जारी झिझियाँ नृत्य प्रतियोगितामा हजारौं दर्शकहरुको उत्साहजनक उपस्थिति
मधेशदूत समाचारदाता
सर्लाही, असोज १३
बडादसैँको अवसरमा सर्लाहीका विभिन्न स्थानमा परम्परागत लोकसंस्कृतिको झलक प्रस्तुत गर्दै झिझियाँ नृत्य प्रतियोगिताको आयोजना गरिएको छ। यस प्रतियोगितालाई नवरात्रि महोत्सवअन्तर्गत मलंगवा, चन्द्रनगर, कबिलासी र अन्य पालिकाका विभिन्न स्थानमा आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
मलंगवा नगरपालिकाका वडा नं. २ झण्डा बजार, वडा नं. ८ नगरपालिका चौक, वडा नं. १० जिविस चौक र वडा नं. ७ मुसैली,वडा न-५ भाँडसरमा भब्य रुपमा प्रतियोगिता भइरहेको छ। प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै देवी दुर्गाप्रति भक्ति प्रकट गर्ने शैलीमा ग्रामीण परम्पराको जीवित झल्को दिने नृत्य प्रस्तुत गरिरहेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार तथा सम्मान दिइने आयोजकहरूले बताएका छन्।
मलंगवामा झिझियाँ नृत्य प्रतियोगिता विगत तीन वर्षदेखि हुँदै आएको छ भने अहिले यसलाई जिल्लाभरका विभिन्न गाउँपालिका र नगरपालिकामा पनि उत्सवकै रूपमा विस्तार गरिएको छ।
परम्पराअनुसार कलशयात्राको रातिदेखि झिझियाँ नृत्य सुरु हुन्छ। मिथिला क्षेत्रका सर्लाही, सिरहा, धनुषा, सप्तरी, महोत्तरी, बारा, पर्सालगायत जिल्लामा प्रचलित यो लोकनृत्य कुनै एक जातिसँग मात्र नभई सम्पूर्ण मधेसी समुदायको सांस्कृतिक सम्पदा मानिन्छ। नृत्यको सुरुवात धामीको मन्त्रसहित ‘छेकबार’ गरेर गरिन्छ, जहाँ युवतीहरूले टाउकामा आगो बलिरहेको घैँटो राखेर ब्रह्मस्थानसम्म नाच्छन् र ब्रह्मबाबाको पूजा गर्दै झिझियाँको औपचारिक सुरुआत गरिन्छ।
मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य सातौँ शताब्दीदेखि प्रचलित छ। यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् ।आयोजकहरूले भने यस प्रतियोगिताले परम्परागत लोकसंस्कृति जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरेका छन्।
No comments:
Post a Comment