मधेशदूत समाचारदाता
सर्लाही, असोज ६
झूटा विवरण प्रस्तुत गरी नेपाली नागरिकता लिएको प्रकरणमा सर्लाही प्रहरीले एक वडाअध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा गाउँपालिका वडा न–४ का वडाअध्यक्ष सुवोध राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवले चार जनाको नागरिकता प्रक्रियामा गलत वतन र विवरण पेश गराई सिफारिस तथा सनाखत गरेको आरोप लागेकाे छ। उक्त व्यक्तिहरूले सोही आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नागरिकता प्रमाणपत्र लिएको वा लिन खोजेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रशासन कार्यालयले २०८१ साल असार ३ गते पत्राचार गर्दै प्रहरीलाई कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको थियो। त्यसैको आधारमा प्रहरीले आइतबार यादवलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा पेस गरेको र अदालतले १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिएका छन्।

No comments:
Post a Comment