Translate

Monday, September 22, 2025

स्थानिय बन ऐन तथा कार्यविधि गोष्ठी सम्पन्न, पत्रकार प्रेमनाथ पौडेल सम्मानित

 


मधेशदूत समाचारदाता---
हरिवन (सर्लाही), असोज ६

   सर्लाहीको हरिवनमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित समृद्धि” भन्ने मूल नारासहित स्थानिय बन ऐन तथा कार्यविधि सम्बन्धी एकदिने छलफल गोष्ठी सम्पन्न भएको छ।
   सामुदायिक बन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा सगुन सहकारीको सभाहलमा सम्पन्न गोष्ठीमा पत्रकार प्रेमनाथ पौडेल र बालगंगा सामुदायिक बनका अध्यक्ष गोबिन्द जर्घालाई सामुदायिक बन र वनको क्षेत्रमा पुर्‍याएको विशेष योगदानका लागि ढाका टोपी र खादा ओढाइ सम्मान गरिएको छ । उनीहरूलाई महासंघका अध्यक्ष सिताराम पोख्रेल र हरिवन नगरपालिकाकी उपप्रमुख एवम् कार्यक्रमकी प्रमुख अतिथि हरिमाया घलानले संयुक्त रुपमा सम्मान  गरेका थिए।
   आइतवार सम्पन्न भएको गोष्ठीमा बहुसरोकार मञ्च बागमती नगर समिति संयोजक बिनिता दाहाल, स्थानिय बन उपभोक्ता महासंघ हरिवन नगर अध्यक्ष केशव गौतम, सल्लाहकार संयोजक माधव थापा लगायतले ऐन, कार्यविधि, अनुगमन, कुटिर उद्योग, आर्थिक उपार्जन तथा युवालाई रोजगारीमा जोड्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
  कार्यक्रमकी प्रमुख अतिथि घलानले “बन रहे मात्रै जीवन रहने भएकाले दिगो बन बनाउन सामुदायिक बन उपभोक्तामार्फत नगरपालिकाले वार्षिक बजेटसहित आवश्यक सहयोग गर्ने” प्रतिबद्धता व्यक्त गरे ।
  महासंघका अनुसार हरिवन नगरपालिका जिल्लामै पहिलो पटक स्थानीय बन ऐन निर्माण गर्ने नगरपालिका बनेको छ। हालसम्म २६ वटा सामुदायिक बन उपभोक्ता समूह दर्ता भइसकेका छन् भने केही प्रस्तावित अवस्थामा रहेका छन्। कार्यक्रममा बन प्राविधिक विनय यादवले बन ऐन तथा कार्यविधि सम्बन्धी प्राविधिक जानकारी प्रस्तुत गरेका थिए।


No comments:

Post a Comment