साना किसान कृषि सहकारी संस्थाको १२औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः नानिराम पौडेल
प्रेमनाथ पौडेल---
हरिवन(सर्लाही),असोज ६
सर्लाहीको हरिवन–८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिवनले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नानिराम पौडेलको अध्यक्षता र हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा भएको सभाले नयाँ नेतृत्व चयन गर्दै कार्यकाल पूरा गरेको हो । सभामा नगरप्रमुख बुढाथोकीले सहकारीलाई आर्थिक मन्दी र क्रयशक्ति कमजोर भएका चुनौती चिर्दै अघि बढ्न सुझाव दिनुभयो । उहाँले कृषि क्रान्तिका लागि आधुनिक कृषि उपकरणमा लगानी गर्नुपर्नेमा जोड दिँदै सदस्यहरूले समयमै बचत तथा ऋणको किस्ता बुझाएर सहकारीलाई सबल बनाउनुपर्नेमा बल दिनुभयो ।
उदघाटन सत्र पश्चात भएको बन्द सत्रले भरतकुमार कार्की संयोजक रहेको तीन सदस्यीय निर्वाचन मण्डलमार्फत पुनः नानिराम पौडेलको अध्यक्षतामा नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा उषा कार्की, सचिवमा सुकदेव कार्की, कोषाध्यक्षमा रश्मि कार्की दाहाल तथा सदस्यमा यमबहादुर भुजेल, गोमा मैनाली र मनोज साह रौनियार चयन भएका छन् ।
त्यस्तै, यादव सुवेदी संयोजक रहेको तीन सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन भएको छ ।
२०७० सालमा २५ सदस्यसहित स्थापना भएको सहकारी अहिले ३०० सदस्यमा पुगेको छ । सुपथ मूल्यमा मलखाद र बीउ–बिजन वितरण गर्दै आएको सहकारीले बाख्रापालन कार्यक्रममार्फत सदस्यहरूको आयस्तर वृद्धि र जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको जनाएको छ ।
सचिव संजिव भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०८१/८२ मा ८१ लाख ७६ हजार ३७३ रुपैयाँको कारोबार गरी १ लाख ६९ हजार ४५० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
कार्यक्रममा हरिवन बचत तथा ऋण सहकारीका अध्यक्ष भरतकुमार कार्की, महादेव कृषि सहकारीका अध्यक्ष रिपुमर्दन ढुंगेल, समाजसेवी यज्ञ विनोद ढुंगेल, सामाजिक अभियन्ता विधा पौडेललगायतको आतिथ्यता रहेको थियो ।
No comments:
Post a Comment