प्रविधिले विस्थापित बनायो परम्परा : संकटमा पत्थरकट्टा समुदायको पुर्ख्यौली पेशा
मनोज यादव----
सर्लाही, भदौ १९
“एउटा जाँतो बनाउन दिनभर लाग्छ, तर अहिले त्यो बेच्दा लागत पनि उठ्दैन,” मलंगवा–४ का पत्थरकट्टा अशोक थबइ भन्छन्। परम्परागत लोहोरो, सिलौटो, जाँतो र ओखल बनाउनमा जीवनको दशकौं खर्च गरेका उनी अहिले भविष्यप्रति चिन्तित छन्।
कुनै समय भात पकाउन चाहिँ चामल कुट्न ओखल, दाल पिस्न जाँतो, मसला पिस्न सिलौटो अपरिहार्य थियो। तर, बजारमा सजिलै पाइने मिक्सचर, ग्राइन्डिङ मेसिन र तयार मसला पाउडरले पुरानो संस्कार बिर्सन लगाइरहेको छ। नतिजा, पत्थरबाट उपकरण बनाउने पत्थरकट्टा समुदाय आफ्नो पुर्ख्यौली पेसाबाट विस्थापित हुँदै गएको छ।
सिलौटो वा जाँतो बनाउन सहज छैन। सयवटा ढुङ्गा खोज्दा दुईवटा मात्र काम लाग्ने हुन्छ। त्यसपछि हातको बल, धैर्य र सीपले मात्रै काम चल्छ। यति मिहिनेत गरे पनि बजार मूल्य न्यून छ । सिलौटो ४ देखि ६ सय रुपैयाँ, जाँतो १,००० देखि १,५०० रुपैयाँसम्ममा बिक्री हुन्छ । लागत नै नउठ्ने भएपछि नयाँ पुस्ता यस पेसाप्रति आकर्षित नभएको समुदायको गुनासो छ।
सर्लाहीमा मात्र नभई मलंगवा, लालबन्दी, हरीवन, ईश्वरपुर, बरहथवा र बाग्मती नगरपालिकाका विभिन्न ठाउँमा पत्थरकट्टाहरु सानो छाप्रो बनाएर यही पेसामार्फत गुजारा गर्दै आएका थिए। तर अहिले आधुनिक उपकरण र बजारमा पाइने रेडिमेड सामानले उनीहरूको जीवन कठिन बनाएको छ।
नेपालमा लोपोन्मुख जातिको सूचीमा परेका थबइ समुदायका करिब दुई सय घरधुरी मात्रै बाँकी रहेको तथ्यांकले पनि यो पेशाको संकटलाई देखाउँछ।
“हामीले पुर्खादेखि गर्दै आएको यो पेशा अब छोराछोरीलाई हस्तान्तरण नहोला भन्ने डर छ,” अशोक थबइ भन्छन्। उनी थप्छन्, “सरकारले सहयोग गरे भने सन्तानलाई पढाउन सक्थ्यौं, तर यस्तो अवस्थामा पेसा नै छोड्नुपर्ने अवस्था आउँदै छ।”
सिर्फ पत्थरकट्टा मात्र होइन, प्रविधिको तीव्र विकासले नेपालका अन्य परम्परागत पेशा गर्ने समुदाय पनि क्रमशः विस्थापित हुँदै गएका छन्। जीवन सजिलो बनाउने उपकरणहरुले पुराना संस्कार र सीपलाई माया गर्ने ठाउँ संकुचित बनाउँदै लगेका छन्।
जाँतो–सिलौटो मात्र पीस्ने उपकरण होइनन्। ती हाम्रो संस्कृति, पहिचान र पुर्ख्यौली सीपको धरोहर हुन्। प्रविधिसँगै समय बदलिँदै जाँदा यस्ता परम्परागत व्यवसाय हराउँदै जानु केवल एउटा समुदायको समस्या मात्र नभई सम्पूर्ण सांस्कृतिक सम्पदाको संकट पनि हो।
No comments:
Post a Comment