सर्लाहीमा ईलाका प्रशासन कार्यालय कहाँ राख्ने भन्ने विषयमा विवाद चुलियो
मनोज यादव---
सर्लाही, भदौ १९ ।
सर्लाहीमा स्थापना हुने नयाँ ईलाका प्रशासन कार्यालय (इप्रका) कहाँ राख्ने भन्ने विषयलाई लिएर अहिले व्यापक विवाद चुलिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यालय बलरामामा राख्ने तयारी भए पनि जिल्लाका विभिन्न भूभागका जनप्रतिनिधि र स्थानीयवासीहरूले त्यसको कडा विरोध गर्दै आफ्ना–आफ्ना स्थानमा स्थापना गर्नुपर्ने माग अघि सारेका छन्।
एक पक्षले कार्यालय बलरामामै राखिनुपर्ने धारणा अघि सारेका छन् भने अर्का पक्षले रामनगर गाउँपालिका स्थित गडहियामा राख्नुपर्ने माग गरेका छन्। यस्तै, पश्चिम सर्लाहीका स्थानीयवासीहरूले भने गोडैतामा इप्रका स्थापना गर्नुपर्ने जोड दिएका छन्।
सरकारको निर्णयलाई समर्थन गर्ने पक्षले बलरामामै कार्यालय राख्नु औचित्यपूर्ण हुने तर्क गरिरहेका छन्। उनीहरूका अनुसार सरकारले निर्णय गरेअनुसार त्यसलाई कार्यान्वयन गर्नेतर्फ अघि बढ्नु पर्ने हो। तर, पश्चिम सर्लाहीका जनप्रतिनिधि र नागरिकहरु भने यो निर्णयको विरोध गर्दै गोडैतामै कार्यालय राख्नुपर्ने अडानमा छन्। उनीहरूले गोडैतामा स्थापना भए मात्रै सेवाग्राहीलाई सहज हुने र लामो दूरी धाउनुपर्ने बाध्यता हट्ने जिकिर गरेका छन्। यसै मागसहित सोमबार सो क्षेत्रका सयौं नागरिकहरु लाई लिएर प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु सदरमुकाम मलंगवामा आएर विशाल प्रदर्शनसमेत गरेका थिए।उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका थिए। "बलरामामा इप्रका राख्ने निर्णय अन्यायपूर्ण छ," भन्ने नारा उनिहरुको आवाज बनेको थियो।
यता, रामनगर गाउँपालिका बासिन्दाले पनि आफूहरूको क्षेत्रमा कार्यालय स्थापना गर्नुपर्ने भन्दै आन्दोलनको स्वर चर्काएका छन्। उनीहरूको भनाइमा, गडहियामा इप्रका राखिए मात्र स्थानीयको पहुँच सजिलो हुने र त्यहाँको आर्थिक तथा भौतिक पूर्वाधारको विकासमा ठोस योगदान पुग्नेछ।
हाल सर्लाहीमा इप्रका स्थापनाको विषयले तीनतर्फी प्रतिस्पर्धा जन्माएको छ । यसले जिल्लाभर राजनीतिक र सामाजिक बहसलाई उचाल्नुका साथै समुदायबीच वैचारिक ध्रुवीकरण पनि बढाएको छ।
यस विषयमा तीन थरी माग उठेपछि सर्लाहीमा राजनीतिक र सामाजिक बहस तीव्र बनेको छ। सरकारले लिएको निर्णय कार्यान्वयनमा जाने हो वा फरक विकल्प खोजिने हो भन्नेबारे अन्योल कायम छ।
No comments:
Post a Comment