भोलीदेखी हुने जेसीआई नेपाल एरिया ‘ए’ सम्मेलनको सबै तयारी पूरा, दुई दिनसम्म मलंगवा जेसिजमय हुने
मधेशदूत समाचारदाता---
मलंगवा, भदौ १९।
सर्लाहीको सदरमुकाम मलंगवामा भोली र पर्सि (भदौ २० र २१ गते) जेसीआई नेपाल एरिया “ए” सम्मेलनको भब्य आयोजना हुन गइरहेको छ। जेसीआई मलंगवाले २०२५ का अध्यक्ष जेसी प्रविण गुप्ताको अध्यक्षतामा बुधबार पत्रकार सम्मेलन गरी दुई दिनसम्म चल्ने यस सम्मेलनलाई ऐतिहासिक र सफल बनाउन तयारी पूरा गरिएको बारे जानकारी दिएको छ।
मलंगवा–८ स्थित मलंगबाबाको प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक जेसी विभाष कुमार कर्णले यस सम्मेलनमा देशभरका १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय युवाहरूको उपस्थिति रहने जनाएको छ । सम्मेलनका क्रममा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, परियोजना निर्माण तथा सामुदायिक विकास सम्बन्धी सेमिनार, कार्यशाला र तालिम सञ्चालन हुनेछन्।
सहभागी युवाहरूले राष्ट्रियस्तरमा सहकार्य र अनुभव आदानप्रदान गर्ने अवसर पाउने नेपाल जेसीज एरिया "ए" का निरुपित जेसी गणेश सापकोटाले बताए।पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक कर्णले एरिया “ए” सम्मेलनले स्थानीयदेखि राष्ट्रिय तहसम्मका युवालाई जोड्ने मात्र नभई समुदायमा सकारात्मक परिवर्तन ल्याउने साझा अभियानको आधारशिला बन्ने विश्वास व्यक्त गरे।
बाहिरबाट आउने आगन्तुकहरूको लागि मलंगवाका होटलहरू बुक गरिएको छ भने उनीहरूलाई नगरका विभिन्न स्थलहरूको अवलोकन गराउने तयारी पनि गरिएको सम्मेलनका प्रेस संयोजक समीर मिकरानीले जानकारी दिए। उनले नगरलाई सफा राख्दै मैत्रीपूर्ण वातावरण तयार पारिएको पनि बताए।
पाटन जेसीजको मातृत्वमा सन् १९८० मा संस्थापक अध्यक्ष स्वस्तिवर श्रेष्ठको पहलमा स्थापित जेसीआई मलंगवा हाल १५० भन्दा बढी सदस्यसहित जिल्लामा शिक्षा, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासमा सक्रिय छ। तारा रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता, विद्यालयस्तरीय क्रिकेट कप, रक्तदान, वृक्षारोपण, नगर सरसफाइजस्ता कार्यक्रममार्फत समाजमा फरक पहिचान बनाउन सफल भएको जेसीआई मलंगवाले सन् १९९६ मा स्थापना भएको मलंगवा जुनियर जेसीजमार्फत बालबालिकाको सर्वाङ्गिण विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
दुई दिनसम्म चल्ने यो सम्मेलन मलंगवा–८ स्थित कुसुम पार्टी प्यालेसमा आयोजना हुने छ।
No comments:
Post a Comment