Translate

Monday, September 8, 2025

जेन-जिको समर्थनमा मलंगवामा मसाल जुलुस, मलंगवा नगरपालिकाले गरे ३ दिन विद्यालय बन्दको घोषणा

 


मधेशदूत समाचारदाता
सर्लाही, भदौ २४

जेन-जिको नेतृत्वमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै सर्लाहीको सदरमुकाम मलंगवामा सोमबार साँझ मसाल जुलुस निकालिएको छ। काठमाडौँसहित देशका विभिन्न सहरमा विद्यार्थीमाथि भएको गोली प्रहार र हत्या घटनाको विरोधस्वरूप आयोजित उक्त प्रदर्शनमा स्थानीयवासी र विद्यार्थीको ठूलो सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। सहभागीहरूले “हत्यारालाई कारबाही गर”, “प्रधानमन्त्री राजीनामा दे”, “गृहमन्त्री राजीनामा दे”, “शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर” जस्ता नारा लगाएका थिए।
मसाल जुलुस मलंगवाको मुख्य चोक हुँदै बजारका विभिन्न भागको परिक्रमा गरेर नगरपालिका चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने वक्ताहरूले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका थिए।
सर्लाहीका मलंगवासहित पर्सा, कबिलासी लगायतका स्थानहरूमा पनि यस्तै विरोध प्रदर्शन गरिएको छ। आन्दोलनलाई मध्यनजर गर्दै मलंगवा नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने घोषणा गरेको छ। मंगलबारदेखि बजारसहित विभिन्न निकाय पनि अनिश्चितकालका लागि बन्द हुने जनाइएको छ।


यस आन्दोलनप्रति सर्लाहीका स्थानीय राजनीतिक दल, नागरिक समाज तथा विभिन्न विद्यार्थी संगठनहरूले ऐक्यबद्धता जनाएका छन्।


No comments:

Post a Comment