ग्रामीण नारी उत्थान संघको संस्थागत समीक्षा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
मधेशदूत समाचारदाता
सर्लाही, असोज ९
सर्लाहीको हरिपुर नगरपालिका–२ मा मा रहेको ग्रामीण नारी उत्थान संघले आफ्नो संस्थागत समीक्षा बैठक तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार सम्पन्न भएको कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनाको प्रगति, खर्च र प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
संस्थाले जिल्लाको ईश्वरपुर, हरिपुर, कबिलासी, बरहथवा र लालबन्दी नगरपालिकामा गरी शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा ६ वटा परियोजना सञ्चालन गर्दै आएको छ। परियोजना मार्फत यस क्षेत्रका नागरिकलाई सेवा पुर्याउँदै आएको प्रसंसा गर्दै हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियारले खुुसी व्यक्त गरेका छन् ।उनका अनुसार पालिका र संस्थाबीचको सहकार्यले विकासका काम छिटो सम्पन्न हुन मद्दत पुगेको छ। “पालिका एक्लैले गर्दा दुई वर्ष लाग्ने काम संस्थासँगको सहकार्यमा एक वर्षमै सम्पन्न भएको छ,” उनले बताए। साथै विपद् वा संकटका घडीमा समेत संस्थाले गरेको काम प्रशंसनीय रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रस्तुत विवरण अनुसार, सन् २०८१/०८२ मा संघले समुन्नति परियोजनामार्फत ६ करोड ५ लाख १४ हजार २६७ रुपैयाँ खर्च गरेको छ। पहुँच परियोजनामा ८१ लाख ८३ हजार ४७७, सिडा/संकल्प परियोजनामा ३३ लाख ८१ हजार ५७४ र सीएफएम परियोजनामार्फत बालविवाह सम्बन्धी गतिविधिमा १ करोड ५८ लाख ८९ हजार ९६ रुपैयाँ खर्च भएको छ।
कार्यक्रममा ग्राउण्डवेल इन्टरनेसनलको सहयोगमा सञ्चालित पारिस्थितिक कृषिमा आधारित जीविकोपार्जन परियोजनामा २७ लाख २४ हजार ५२३ रुपैयाँ खर्च भएको र संस्थाको आन्तरिक बजेट खर्च २४ लाख २७ हजार ७७७ रुपैयाँ रहेको पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रम संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षतामा तथा नगर प्रमुख पंजियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ईश्वरपुर र हरिपुरका विभिन्न वडाका वडाअध्यक्ष, विषयगत शाखा प्रमुख, बाल क्लब तथा बाल सञ्जालका प्रतिनिधि, साथै साझेदार संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेले जानकारी दिएको छ।
No comments:
Post a Comment