सर्लाहीमा रात्रि बस र ट्रक ठोक्किँदा सात यात्रु घाइते
मधेशदूत समाचारदाता---
सर्लाही, असोज ९
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा मंगलबार दिउँसो रात्रि बस र ट्रक एक–आपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख, ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार काठमाडौंबाट विराटनगर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्बरको रात्रि बस र महोत्तरीको बर्दिवासबाट चामल बोकेर भैरहवातर्फ गइरहेको ना ६ ख २९२८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोरङ र भारतको दरभङ्गासहितका सात जना यात्रु घाइते भएका छन्। उनीहरूमध्ये एकजनाको उपचार लालबन्दीमा तथा बाँकी ६ जनाको बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ।
बसमा ३९ जना यात्रु सवार रहेका थिए। ठोक्किएपछि बस र ट्रक दुवै सवारी सडक छेउमा पल्टिएका थिए। पानी परिरहेको समयमा दिउँसो करिब पौने ३ बजे दुर्घटना हुँदा प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए।
उक्त दुर्घटनामा बसका चालकसहित यात्रुहरू घाइते भए पनि ट्रकका चालक र कर्मचारी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment