Translate

Tuesday, September 2, 2025

मलंगवामा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि अस्वाभाविक भीड/ अव्यवस्थित पार्किङ,भीड व्यवस्थापनको कमी र चोरीका घटनाले सेवाग्राही त्रस्त

 




मनोज यादव---
सर्लाही,भदौ १७ गते ।

   बिहान ४ बज्न नपाउँदै मलंगवा-५ भाँडसरका ६२ वर्षीय रामवृक्ष सहनी टर्च बोकेर मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयतर्फ हिँडे। उनीसँगै गाउँका केही महिला र पुरुषहरु पनि थिए। घरमा परिवारका सदस्यहरूले ‘यति बिहानै किन हिँडेको?’ भनेर सोध्दा सहनीले मुस्कुराउँदै भने, “लाइन लामो हुन्छ, ढिला गएमा कामै नहुने पो हो कि भन्ने डर छ।”
  यो सहनीको मात्रै कथा होइन, दैनिक सयौँ सेवाग्राहीहरू बिहान सबेरै उठेर कार्यालयको ढोका अगाडि लामबद्ध हुने गर्छन्।
   सरकारले बैंकिङ कारोबार, सरकारी सेवा र अन्य आधिकारिक कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीहरूको चाप अस्वाभाविक रूपमा बढेको हो। नयाँ नागरिकता लिने, हराएको वा फाटेको नागरिकताको प्रतिलिपि निकाल्ने,उच्च शिक्षा अध्यन तथा नोकरीका लागि जाती प्रमाणित गराउने, राष्ट्रिय परिचयपत्रको आवेदन दिने र बायोमेट्रिक गर्नेहरू एउटै ठाउँमा भेला हुँदा ठूलो भिड देखिने गरेको छ।
   जिल्ला प्रशासन कार्यालय भर्खरै पुरानो भवनबाट आफ्नै नयाँ भवनमा सारिएको छ। नयाँ स्थानमा कागजातहरू मिलाउने काम, कार्यालय व्यवस्थापन मिलाउने काम र सेवाग्राहीलाई पनि सेवा दिने जिम्मेवारी एकसाथ परेकाले पनि थप समस्या आएको कार्यालयका कर्मचारीहरूले बताएका छन्।
 सेवाग्राहीहरूले भोक-प्यास त्यागेर बिहानैदेखि लाइनमा बस्दा पनि काम द्रुत गतिमा नहुने गुनासो गर्छन ।कतिपयलाई कागजपत्र अधुरो भन्दै भोलिपल्ट पुनः आउनुपर्ने अवस्था हुन्छ। वृद्धवृद्धा, महिला, बालबालिकासहित टाढा गाउँबाट आएका सेवाग्राहीलाई घामपानीमा घण्टौँ पर्खनुपरेको दृश्य दैनिक देखिन्छ।
 कार्यालय बाहिर उचित पार्किङको सुविधा नभएकाले सेवाग्राहीहरुको मोटरसाइकल, साइकल र साना चारपाङ्ग्रे सवारीसाधनहरु जथाभावी पार्किङ गरेको दृश्य दिनहुँ देखिन्छ ।यसले कार्यालय अगाडिको सडक नै अवरुद्ध हुने गरेको छ। पैदल यात्रु र अन्य सवारीसाधनलाई आवतजावतमा असुविधा हुने गरेको छ भने कार्यालय वरपर पसल गर्ने व्यवसायीहरू पनि प्रभावित भएका छन्।
  कार्यालय बाहिरका पसलेहरूको भनाइअनुसार, पछिल्ला दिनमा कार्यालय परिसर नजिक मोटरसाइकल चोरीका घटनाहरु ह्वात्तै  बढेको छ। भीडको फाइदा उठाएर अपरिचित व्यक्तिहरूले सवारीसाधन चोरी गर्ने गरेको गुनासो उनीहरूले गरेका छन्।
  "हामी बिहान सबेरै लाइन बस्छौं तर काम छिट्टै सकिँदैन। कतिपयलाई त फेरि अर्को दिन आउनुपर्छ। अधिकांशको त सर्जमिनको लागि पत्र नै काटिन्छ । सेवा प्रवाहलाई सहज बनाउन व्यवस्थापनमा सुधार हुन जरुरी रहेको  सेवाग्राही रामेश्वर यादवको भनाई छ। 
  उता पसलेहरुको पनि कार्यालय नजिकै अव्यवस्थित पार्किङ हुँदा सडक नै जाम हुने गरेको र पसलमा ग्रहकहरुलाई आउजाउ गर्न पनि समस्या भइरहेको गुनासो छ। पछिल्लो केही दिनदेखि मोटरसाइकल चोरीका घटना  बढेकाले यसतर्फ सम्बन्धित कार्यालयले ध्यान दिन जरुरी रहेको उनीहरूको भनाई छ।
 विशेष गरी नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता आधारभूत सेवा सहज तरिकाले पाउन सेवाग्राहीहरुले उचित पार्किङ, टोकन प्रणाली, अतिरिक्त कर्मचारी परिचालन र सुरक्षा व्यवस्थाको माग गरेका छन्। साथै, नयाँ भवनबाट काम थालिएकोले प्रारम्भिक व्यवस्थापनका चुनौतीहरू समाधान गर्न प्रशासनले प्राथमिकतापूर्वक ध्यान दिनुपर्ने सेवाग्राहीहरूको धारणा छ।


No comments:

Post a Comment