सडकमानवका लागि ‘घर’ निर्माण: हरिवनमा मानव सेवा आश्रमको पहल
उषा किरण पोखरेल---
सर्लाही,भदौ १७ गते ।
सर्लाहीको हरिवन नगरपालिका–९, दनुवारिमा सडक मानवलाई सुरक्षित छाना, न्यानो बास र बेलाबेलाको खाना सुनिश्चित गर्ने उद्देश्यले भव्य भवन निर्माण कार्य अघि बढाइएको छ ।
यो भवन तयार भएपछि सर्लाही र छिमेकी महोत्तरीका सडकमा आश्रयविहीन भएर भौतारिरहेका मानिसले अब सडकको कठ्याङ्ग्रिँदो जाडो, भीषण गर्मी वा जनावरको आक्रमणबाट बचेर मानवोचित जीवन बिताउने अवसर पाउनेछन् ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा ६० लाख रुपैयाँ उपलब्ध गराएपछि यसको जग हालिएको थियो । हाल भने श्रीमद्भागवत पुराणमार्फत संकलित करिब दुई करोडभन्दा बढी रकम, त्यसमा पनि ३८ लाख खर्च कटाएर बाँकी बचेको रकम प्रयोग गरी माथिल्लो संरचनाको निर्माण तीव्र गतिमा अघि बढाइएको मानव सेवा आश्रम सर्लाहीका संयोजक प्रथाना मानव सेवाले जानकारी दिए ।
करिब पाँच करोड लागत अनुमान गरिएको यस योजनाअनुसार हरिवन–९ मा दुई वटा दुईतले भवन बन्नेछन् । एक–एक तलामा नौवटा कोठा रहनेछन्, जसमा चारदेखि पाँच जना सहजै बस्न मिल्ने व्यवस्था हुनेछ। भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक हुनेछन् भने बालबालिकाका लागि छुट्टै ‘बालमैत्री भवन’ पनि निर्माणाधीन छ । त्यस्तै, मेडिकल रुम, ध्यानकक्ष, कार्यालय सञ्चालन कोठासहित आधुनिक सुविधा रहने गरी निर्माण कार्य भइरहेको छ।
यो भवन तयार भएपछि करिब ८० जना सडकमानव बस्न सक्नेछन्। उनीहरूको दैनिक देखभालका लागि १५ जना स्वयंसेवकलाई परिचालन गर्ने तयारी आश्रमले गरेको छ । अहिले नै हरिवनस्थित अस्थायी आश्रममा ७० जना सडकमानव (तीनजना बालबालिकासहित) आश्रित छन्, जसलाई स्वयंसेवकहरूले निरन्तर सेवा दिइरहेका छन् ।
२०७८ फागुन २४ गते भाडाको घरबाट सेवा सुरु गरेको आश्रमले केही वर्षअघि हरिवन नगरपालिकाले उपलब्ध गराएको जेष्ठ नागरिक भवनबाट सेवा विस्तार गरिरहेको छ । यही निरन्तर सेवाको कारण हाल हरिवन नगरपालिका सडकमानवमुक्त पालिका घोषण भएको छ । जिल्लाका अन्य पालिकाहरू पनि क्रमशः यसै अभियानमा अघि बढिरहेका छन् ।
मानव सेवा आश्रमले हाल मुलुकका २० जिल्लाका २७ स्थानमा सेवा प्रदान गरिरहेको छ । यसले संविधानले सुनिश्चित गरेको ‘गाँस, बास र कपास’को अधिकारलाई व्यवहारमा उतार्ने उदेश्य बोकेको छ ।
प्रदेश सरकार र भागवत पुराणमार्फत संकलित रकमले मात्र भवन निर्माण सम्पन्न गर्न सकिँदैन । अझै करिब करोडौं रकम अपुग भएकाले विभिन्न निकायसँग समन्वय भइरहेको आश्रमले जनाएको छ । “सडकमा परेका मानवलाई सम्मानपूर्वक जीवन दिन यो आश्रम निर्माण अत्यावश्यक छ । त्यसका लागि सरकार, निकाय, समाजका दातृ मनसबै एकजुट हुनुपर्छ,” आश्रमका संयोजक प्रथाना मानव सेवा भन्छन् ।
यसरी हरिवनमा निर्माण हुँदै गरेको मानव सेवा आश्रम केवल भवन मात्र होइन, सडकमानवका लागि आशाको घर सावित हुँदैछ ।
No comments:
Post a Comment