हेमपुर स्थित जिरानी माई मन्दिर परिसर नशेडी युवाहरुको अड्डा ,सम्बन्धित वडा र प्रहरी मुकदर्शक
मधेशदूत समाचारदाता---
सर्लाही,भदौ १७
सर्लाहीको कविलासी नगरपालिका वडा न–४ हेम्पुरस्थित जिरानी माई मन्दिरको परिसर पछिल्लो समय नशेडी युवाहरुको अड्डाजस्तै बनेको भन्दै स्थानीयवासीहरु आक्रोशित भएका छन्।
स्थानीयका अनुसार मन्दिर वरिपरि युवाहरूको ठूलो जमघट हुने गरेको छ। कोही गाँजा काट्ने, कोही चुरोटमा गाँजा भरेर सेवन गर्ने, कोही खाली बोतलमा प्वाल पारेर हुक्काझैँ प्रयोग गर्ने, त कोही खुलेआम रक्सी सेवनमा रमाउने दृश्य आम भएको छ। यसरी नशामा डुबेका युवाहरुको जमघट श्रद्धालु भक्तजनहरु भन्दा बढी हुने गरेका कारण महिला र बालबालिकाहरू पूजा गर्नसमेत डराउने अवस्था सिर्जना भएको स्थानीयले गुनासो गरेका छन् ।
यस्तो अवस्था हुँदाहुँदै पनि मन्दिरबाट करिब दुई मिनेट टाढा मात्र रहेको प्रहरी चौकी र सम्बन्धित वडाको वडाअध्यक्षलाई जानकारी हुँदाहुँदै समेत मौन रहेको प्रति स्थानीयहरुले गुनासो गरेका छन्।
विद्यालय छुट्टी हुने समयमा विद्यार्थीहरू घर फर्किंदा ती नशेडी युवाहरूको जमातले छात्राहरलाई जिस्क्याउने,अपशब्द प्रयोग गर्ने, अशोभनीय व्यवहार गर्ने जस्ता असामाजिक गतिविधि बढ्दै गएको स्थानीयले बताएका छन्। यसले सामाजिक वातावरण नै प्रदूषित बनाइरहेको भन्दै उनीहरूले तत्काल नियन्त्रणका लागि सम्बद्ध निकायलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।
No comments:
Post a Comment