सर्लाहीमा नव दुर्गा मूर्ति निर्माणमा ब्यस्तता, मेलाको तयारी शुरु
उषा किरण पोखरेल----
सर्लाही, भदौ २२
विश्वकर्मा पूजा अगावै तराई–मधेशका विभिन्न स्थानमा नव दुर्गा पूजाको तयारी जोर–शोरमा सुरु भएको छ। माटोको मूर्ति निर्माणमा कलाकारहरू व्यस्त देखिएका छन्।
यस वर्ष विश्वकर्मा पूजा र वडा दशैंको समय छोटो भएकाले दशैंका लागि नव दुर्गाको मूर्ति निर्माण कार्य पनि अहिले धमाधम चलिरहेको छ। सर्लाहीको मलंगवा, चक्रघट्टा, गडैता, हरिपुर , लालबन्दी , हरिवन , बरहथवा लगायतका ठाउँहरुमा मूर्ति निर्माणको काम तीव्र गतिमा भइरहेको छ। मूर्ति निर्माणका लागि दक्ष जनशक्ति र आवश्यक सामग्री भारतबाट समेत आयात गर्नुपर्ने अवस्था आएको छ।
स्थानीय सांस्कृतिक जानकारहरूका अनुसार, मूर्ति निर्माण मात्र धार्मिक क्रियाकलाप नभई पौराणिक कथा र परम्परागत संस्कृतिसँग नयाँ पिँढीलाई जोड्ने माध्यम पनि हो। प्रत्येक मूर्तिमा दुर्गा महिमा र पर्वसँग सम्बन्धित कथा चित्रण गरिएको हुन्छ।
सर्लाही जिल्लामा करिब ५० भन्दा बढी स्थानमा दशैंको अवसरमा मेला लाग्ने गर्दछ। पहिले मनोरञ्जनका साधन सीमित भए पनि अहिले विभिन्न प्रकारका आधुनिक मनोरञ्जन सामग्रीको व्यवस्था भएपछि मेलाको आकर्षण अझै बढेको छ।
मूर्तिकारहरूले स्थानीय बजारको चहलपहल र मेला व्यवस्थापनलाई ध्यानमा राख्दै मूर्ति निर्माणको काम जारी राखेका छन्। यसरी नव दुर्गाको पूजा तयारीसँगै मेलाको माहोल पनि स्थानीय समुदायमा उत्साहपूर्ण देखिन्छ।
No comments:
Post a Comment