सर्लाही जिल्लाभर एक मात्र दमकल, आगलागी नियन्त्रणमा संकट
उषा किरण पोखरेल---
सर्लाही, असोज १
देशकै सबैभन्दा धेरै २० वटा स्थानीय तह भएको सर्लाही जिल्लामा अहिले आगो निभाउनेका लागि जम्मा एक मात्र दमकल बाँकी रहेको छ। हालैको आन्दोलनका क्रममा ९ वटा पालिका कार्यालयमा तोडफोड र आगजनी हुँदा कार्यालयभित्रका सबै कागजात, फर्निचर तथा भवन परिसरमा रहेका सवारी साधन जलेर नष्ट भएका छन्। यस्तै, आगो निभाउने दमकल समेत जलेर खरानी भएपछि जिल्लामा ठूलो संकट थपिएको छ।
हाल सदरमुकाम मलंगवा नगरपालिका बाहेक जिल्लामा अर्को कुनै दमकल कार्यरत छैन। उत्तरी सर्लाहीको हरिवन नगरपालिकासँग रहेको दमकल पनि आन्दोलनकै क्रममा जलेर पूर्णरुपमा नष्ट भएको छ। यसले गर्दा आगलागीको घटनामा तत्काल नियन्त्रणमा लिन सकिने अवस्था गम्भीर संकटमा परेको छ।
ग्रामीण भेगमा समयमै दमकल नपुग्दा जनधनको ठूलो क्षति हुँदै आएको स्थानीयवासीको गुनासो छ। नागरिक समाज सर्लाहीका अगुवा रजनीकान्त झाका अनुसार, २० वटा पालिका भएको जिल्लामा दमकल खरिदप्रति पालिकाहरूले चासो नदेखाउनु दुःखद पक्ष हो। “दुई पालिकाबाहेक अरू पालिकाले दमकल खरिदतर्फ कुनै ध्यान दिएका छैनन्,” उनले भने।
अघिसम्म मलंगवा र हरिवन नगरपालिकाका दमकलले जिल्लाभर सेवा दिँदै आएका थिए। तर हरिवनको दमकल नष्ट भएपछि अहिले मलंगवाको एक मात्र दमकलमा भर परेर जिल्लाभर काम गर्नुपर्ने बाध्यता आएको छ।
आन्दोलनका क्रममा मलंगवा, ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपुर्वा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाका कार्यालयमा आगजनी भएको थियो। यसमध्ये लालबन्दी, हरिवन र बरहथवा नगरपालिकाको भवन पूर्णरुपमा जलेर नष्ट भएका छन् भने अन्य पालिकामा आंशिक क्षति पुगेको छ।
सर्लाहीमा सुख्खा मौसम र घना बस्ती भएकाले आगलागीको जोखिम झन् उच्च छ। विशेषज्ञहरूले छिमेकी पालिकाहरूले संयुक्त रुपमा दमकल खरिद गरेर व्यवहारमै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नत्र भने ठूला धनजनको क्षति हुने चेतावनी दिइएको छ।
No comments:
Post a Comment