Translate

Friday, September 5, 2025

मलंगवामा हुलाकी राजमार्ग निर्माण नहुँदा पुनः आन्दोलनको चेतावनी



मनोज यादव---
मलंगवा, भदौ २०

   सर्लाहीको मलंगवा नगरपालिका भित्र पर्ने हुलाकी राजमार्गको निर्माण कार्य पटक–पटक आश्वासन मात्रमा सीमित भएको भन्दै स्थानीयवासीहरुले पुनः आन्दोलनको चेतावनी दिएका छन्।
  सामाजिक सेवा सहयोगी समिति, सर्लाहीका संयोजक सोहन झाले बिहिवार प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो। 
   प्रजिअ श्रेष्ठलाई  बुझाएको ध्यानाकर्षण पत्रमा यही मिति भदौ २७ गतेसम्म सडक निर्माण कार्य सम्पन्न नभए २८ गतेदेखि अनिश्चितकालीन रुपमा हुलाकी राजमार्ग बन्द गर्ने चेतावनी दिइएको छ।।पत्रमा ठेकेदारसहित सम्बन्धित निकायले समयमा सडक निर्माण नगर्दा मलंगवा नगरपालिका भित्र र बाहिर आवतजावत गर्ने सर्वसाधारणको जीवन कष्टकर बनेको उल्लेख छ। यसअघि पनि स्थानीयवासीले धुलो र धुवाँको कारण बाटो अवरुद्ध गर्दै आन्दोलन गरेका थिए। त्यसबेला प्रहरी प्रशासनले ठेकेदारलाई एक हप्ताभित्र सडक निर्माण हुने आश्वासन दिएको भए पनि अहिलेसम्म काम अघि बढेको देखिएको छैन।
   “जिल्ला प्रशासन कार्यालयजस्तो प्रमुख कार्यालय रहेको ठाउँमै बाटो निर्माण नहुनु दुर्भाग्यपूर्ण हो,” पत्रमा भनिएको छ।
    स्थानीयवासीहरुले पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएपछि आन्दोलनको विकल्प नरहेको सामाजिक सेवा सहयोगी समितिको भनाइ छ।


No comments:

Post a Comment