बदलिँदो अवस्थामा पत्रकारको भूमिका बारे अन्तरक्रिया तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता
सर्लाही, असोज १३
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आइतबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा ‘बदलिँदो अवस्थामा पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा विजया दशमी, दिपावली र छठ पर्वका शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रम महासंघका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा र महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, प्रहरी नायव उपरीक्षक सरोज राई, पूर्व अध्यक्षद्वय टंक क्षेत्री र विश्वनाथ ठाकुर, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरीसहित पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूले समाचार संकलन तथा प्रकाशनका क्रममा उत्पन्न हुने वाधा, अवरोध र विभिन्न आक्रमणका घटनाबारे आफ्ना अनुभव सुनाएका थिए। उनीहरूले पत्रकारितामा सुरक्षित वातावरणको आवश्यकतामा जोड दिएका थिए।
प्रमुख अतिथि मिश्रले पत्रकारिता समाज रूपान्तरणको आधारस्तम्भ भएको उल्लेख गर्दै अहिलेको बदलिँदो परिस्थितिमा सञ्चारमाध्यमको भूमिका झनै संवेदनशील र जिम्मेवारीपूर्ण बन्न पुगेको बताए। सत्य, निष्पक्षता र जनउत्तरदायित्वमा आधारित पत्रकारिता आजको अपरिहार्यता भएको उनको भनाइ थियो। साथै, उनले सामाजिक सञ्जालमा भर नपरी पुष्टि भएको समाचार मात्रै प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले एकआपसमा विजया दशमी, दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान गरेका थिए।
No comments:
Post a Comment