Translate

Monday, September 29, 2025

सागरनाथ महादेव मन्दिर तथा अहिंसावादी बौद्ध छ्योईलिङ्ग गुम्बा

 


उषा किरण पोखरेल ---

    सागरनाथ महादेव परिसर वैहुधामको रूपमा र सांस्कृतिक रूपमा अर्ध विकसित बन्दै गएको छ। पछिल्लो समय हिन्दू धर्मावलम्बी मात्र नभई वैद्ध धर्मानुयायीहरूको समेत पवित्र धार्मिक स्थलको रूपमा विकसित हुँदै गएको यस स्थानमा सागरनाथ महादेव मन्दिर र अहिंसावादी बौद्ध छ्योईलिङ्ग गुम्बा एकै परिसरमा रहेका छन्।
   सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा अवस्थित सागरनाथ महादेव मन्दिर ऐतिहासिक एवं धार्मिक दृष्टिले प्रख्यात मन्दिर हो।
-मन्दिरको ऐतिहासिक पृष्ठभूमि
    सन् २०११ सालमा सिन्धुपाल्चोक जिल्ला साँगा चोक निवासी गेरुवा वस्त्रधारी बद्री वसिलाल पुरी सन्यासी बाबाले तीर्थयात्राका क्रममा घना जंगलभित्र महादेव मन्दिरको भग्नावशेष पत्ता लगाएका थिए। त्यतिबेलादेखि उहाँले त्यहाँ कुटी बनाई पूजाआजा गर्न सुरु गर्नुभयो। बद्री बाबाको निधन भएपछि २०४४ सालदेखि उहाँकै छोरा रुद्रलाल पुरीले पूजाआजा गर्दै आएका छन्।बद्री बाबाको अनुरोधमा तत्कालीन श्री ५ महेन्द्र वीर विक्रम शाहदेवबाट तोक आदेश लिइ जिल्ला पञ्चायत कार्यालय र विभिन्न दानवीरहरूको सहयोगमा जम्मा ११ हजार रुपैयाँको लागतमा मन्दिर जीर्णोद्धार गरिएको थियो।
-मन्दिर क्षेत्र
      सागरनाथ महादेवको मुख्य मन्दिर वरिपरि राधाकृष्ण, नन्दीभृङ्गी, बंगलामुखी वनदेवी, राम–लक्ष्मण–हनुमान–अहिरावण मर्दन मन्दिरहरू साथै विवाहमण्डप रहेका छन्। पूर्वपट्टि ठूलो पोखरीले क्षेत्रलाई थप रमणीय बनाएको छ।
समथर भूभाग, शान्त वातावरण, साल, टाँकी, मसला लगायतका रुखहरूले घेरिएको वन क्षेत्रमा चराचुरुङ्गीको आवाजले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ।
-धार्मिक महत्व


       सागरनाथ महादेव मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। हरेक वर्ष हरिवोधिनी एकादशीको दिन भव्य मेला लाग्ने गर्दछ जसमा सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर, रौतहटसहित भारतका बिहार, झारखण्डसम्मका भक्तजन आउने गरेका छन्।
हरितालिका तीज, बलाचतुर्दशी, रामनवमी, महाशिवरात्रि, कृष्णाष्टमी, दशैं, बोलबम यात्रा आदिमा पनि यहाँ ठूलो भीड लाग्ने गर्दछ।
-अहिंसावादी बौद्ध छ्योईलिङ्ग गुम्बा
    अहिंसावादी बौद्ध छ्योईलिङ्ग गुम्बाको निर्माण विक्रम संवत् २०५९ असोज १ गतेदेखि सुरु गरिएको हो। यहाँ लामाहरूले धर्म, संस्कृति तथा कर्मकाण्डसम्बन्धी शिक्षा ग्रहण गर्ने कक्षा सञ्चालन हुँदै आएको छ। हालसम्म करिब ४०० भन्दा बढी लामाहरू प्रशिक्षित भइसकेका छन्।
गुम्बा परिसरमा गुम्बा, आवास गृह, फलफूलको बगान, पानीका सुविधा र अन्य भौतिक संरचना निर्माण गरिएको छ। स्थानीय दाताहरुको सहयोग र तीनै तहका सरकारको करिब २ करोड रुपैयाँको लागतमा संरचना तयार भएको हो।
   गुम्बा व्यवस्थापन समितिका अनुसार यहाँ थप आवास, उच्च शिक्षा कक्षा सञ्चालन र ध्यानगुफा निर्माणका लागि करिब १५–१६ करोड रुपैयाँ आवश्यक रहेको छ। यस स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न दुबै पक्षले संयुक्त गुरुयोजना बनाएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइएको छ।
  यस क्षेत्रलाई धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक स्थलका रूपमा पनि उपयोग गरिँदै आएको छ। अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, विवाह, ब्रतबन्ध, नेवार समुदायका विवाहजस्ता कार्यक्रम, सामूहिक पिकनिक आदिका लागि मानिसहरू यहाँ आउने गरेका छन्। मन्दिर व्यवस्थापनले पिकनिकका लागि प्रति समूह २५० रुपैयाँ र विवाहका लागि ५०० रुपैयाँ सेवा शुल्क लिने गरेका छन् । संकलित रकम मन्दिर विकासमा प्रयोग गर्दै आएको छ।


No comments:

Post a Comment