दसैँको रौनक तथा ग्राहकको चहलपहल भारतीय बजारमा, मलंगवा भने सुनसान
मनोज यादव---
सर्लाही, असोज १३
दसैँ सुरु भइसकेको छ, तर सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाका प्रमुख बजारहरूमा यसपटक त्यो रौनक छैन, जसको प्रतीक्षा व्यापारी र उपभोक्ताले गर्ने गर्थे। विगतका वर्षहरूमा चाडपर्व सुरु हुनासाथ बजारमा घुइँचो लाग्ने, पसलहरूमा भीड हुने र उपभोक्ताले नयाँ सामान खरिद गर्ने परम्परा यसपालि हराएको जस्तो देखिन्छ।
मलंगवाका किराना व्यवसायी बिक्की यादवले आत्तिँदै भने, “यसपालि दसैँ आएको जस्तो लाग्दैन। बजार सुनसान छ, उपभोक्तामा चासो नै छैन।” बिहानदेखि बेलुकासम्म पसलमा ग्राहक पर्खिनु उनीहरूको दिनचर्या बनेको छ।
स्थानीयहरू भन्छन् ,चहलपहल नदेखिनुको कारण तलब र सामाजिक सुरक्षा भत्ता वितरण नहुनु पनि हो। मलंगवा–२ का बिशम्भर यादवका अनुसार, “कर्मचारीले तलब पाएनन्, लाभग्राहीले भत्ता पाएनन्। पैसै नहुँदा बजारमा किनमेल कसरी हुन्छ?”
यता, भारतीय सीमापारी सोनवर्षा, हनुमान चौक, कन्हौली र मेजरगंजका बजार भने दसैँको भीडले गुलजार छन्। त्यहाँ सामान सस्तो पाइनु नेपाली उपभोक्ताका लागि आकर्षण बनेको छ। नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी भन्छन्, “सिमापारी बजार नजिक हुनु र मूल्य सस्तो पर्नु नै नेपाली बजार सुनसान हुनुको मुख्य कारण हो।”
मलंगवा, गोडैता, बरहथवा वा बयलबास जुनसुकै बजारमा पुग्दा पनि दृश्य उही छ। पसलमा व्यापारीहरू कुर्सीमा बसिरहेका छन्, तर उपभोक्ता हातमा झोला बोकेर सामान खरिद गर्न आएका देखिँदैनन्।
दसैँ भनेको उपभोक्ताको उत्सव मात्र होइन, व्यापारीको पनि पर्व हो। तर यसपालि मलंगवाका व्यापारीहरू उत्सवभन्दा पनि चिन्तामा डुबेका छन्।ग्राहकको चहलपहल भारतीय बजारमा सरेपछि यहाँका पसलहरू सुनसान बन्न पुगेका छन्।
यतिबेला दशैँको रौनक र ग्राहकहरुको चहल पहल मलंगवा बजारमा होइन, सीमापारी भारतीय बजारमा देखिएको छ।
No comments:
Post a Comment