Translate

Thursday, September 11, 2025

वर्षाले किसानलाई राहत

 


उषा किरण पोखरेल---

लालबन्दी(सर्लाही),भदौ २६

    भदौ तेस्रो सातामा आएर भएको वर्षाले धानसहित अन्य बालीलाई फाइदा पुगेको छ । पानी नपर्दा यहाँ धान बाली सुक्न थालिसकेको थियो । शुक्रबार रातिदेखि मौसम बदली भएर पानी पर्दा किसान खुसी देखिन्छन् ।  
    लालबन्दी नगरपालिका–४, हरिभवनका किसान केदारबहादुर कार्कीले सिँचाईको समस्या परिरहेको समयमा आकाशे वर्षा भएपछि राहत मिलेको बताउनुभयो । 
   किसान रातदिन विद्युतीय मोटर चलाएर धान बालीमा पानी पटाउन बाध्य थिए । कुलो तथा नहरमा पानी सुक्दा समस्या परिरहेको थियो ।शुक्रबार रातिदेखि भने २४ घण्टाभित्रै पाँच-छ पटक नै दर्के पानी पर्दा धान बालीमा तत्कालका लागि पानीको समस्या टरेको कार्कीले बताउनुभयो । 
   अहिले परेको पानीले हिउँदे मकै, कोदो, उखुलगायतका बालीलाई समेत अमृत समान काम गरेको भन्दै किसानहरु खुसी भएका छन् । वर्षाले खोलामा पानीको बहाव बढ्दा केही साताका लागि नहर तथा कुलोमा पर्याप्त पानी आउने अवस्था रहेको किसानको भनाइ छ ।
   कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले आवश्यक परेकै समयमा आकाशे वर्षा भएको बताउनुभयो । पछि रोपेको धान गोडेर मल हाल्ने र बेलैमा रोपेको धान पसाउने बेला भएको समयमा पानी पर्दा फाइदा पुगेको प्रमुख कुशवाहाको भनाइ छ । उहाँका अनुसार सर्लाहीमा धान खेती हुने ४४ हजार १७५ हेक्टर जग्गामध्ये ९० प्रतिसत बढी खेतमा रोपाइँ भएको छ । 
     पानी परेसँगै यस क्षेत्रमा तत्कालका लागि गर्मी कम हुँदा जनजीवनसमेत सामान्य बनेको छ । वर्षाले चुरेभेगमा भने बाढी आउँदा पुनः खोलाको बाटो बिग्रिएर हैरानी थपिएको स्थानीयले गुनासो गरेका छन् ।

No comments:

Post a Comment