सर्लाहीका एकदर्जन बढी प्रहरी चौकी विस्थापित /सुरक्षा अवस्थामा सुधार आएको र अवस्था पनि नियन्त्रणमा रहेको नेपाली सेनाको भनाई
मधेशदूत समाचारदाता---
सर्लाही ,भदौ २६
जेन-जी आन्दोलन सक्किसकेको अवस्थामा पनि आन्दोलनको नाममा सर्लाहीका गाउँ-गाउँमा अराजक गतिविधि रोकिएको छैन । यस्तो परिस्थितिमा सर्वसाधारण जनतालाई सुरक्षा दिनुपर्ने प्रहरी चौकी तथा अस्थायी प्रहरी चौकीहरु आफै विस्थापित हुनुपरेको छ। जिल्लाका विभिन्न स्थानमा रहेका एकदर्जन बढी प्रहरी चौकीहरु विस्थापित भएका छन् ।
बुधबारसम्म सर्लाहीका एकदर्जन बढी प्रहरी चौकीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिएको छ । प्रवक्ता राईका अनुसार सर्लाहीको दक्षिणी क्षेत्रस्थित कबिलासी, हरिपूर्वा, नारायणपुर, बहादुरपुर, संग्रामपुर, सोल्टी, राजघाट, हजरिया, कौडेना, मधुवनगोठ तथा महेन्द्र राजमार्ग क्षेत्रस्थित फुलजोर, परवानीपुर, घारिबथान लगायत स्थायी तथा अस्थायी प्रहरी चौकीहरु विस्थापित भइसकेका छन् ।
पछिल्लो घटनाक्रमका कारण आइपरेको परिस्थितीका कारण विस्थापित भएका सुरक्षा इकाईहरुलाई पुनर्स्थापित गर्न सक्दो प्रयास रहने सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्र खडकाले जानकारी दिए ।
नेपाली सेनाले सुरक्षाको जिम्मेवारी सम्हालेपश्चात सर्लाहीको सुरक्षा अवस्थामा सुधार आएको र अवस्था पनि नियन्त्रणमा रहेको नेपाली सेनाको पाँचकुमारीस्थित कालिध्वज गणका गणपति प्रमु्ख सेनानी उमेश खड्काले जनाएको छ।
No comments:
Post a Comment