हरिवनमा संचालित नेतृत्व तथा वकालत तालिम सम्पन्न
मधेशदूत समाचारदाता ---
सर्लाही,भाद्र १७
सर्लाहीको हरिवनमा सामुदायिक संस्थाहरुलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने नेतृत्व तथा वकालतसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ ।
हरिवन नगरपालिका–११ का वडा अध्यक्ष शेख मेहबुब रेजाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागीहरूले तालिम प्रभावकारी र लाभदायक रहेको प्रतिक्रिया दिएका थिए । प्रशिक्षक पुष्कर मणि घिमिरेले नेतृत्वको अर्थ, आवश्यकता, आवश्यक गुण, वकालत गर्ने तरिका, टोल विकास संस्थाका पदाधिकारीका अधिकार–कर्तव्य र संस्थागत संरचना सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिममा विभिन्न टोल विकास संस्था, रोड सेफ्टी क्लबका पदाधिकारी, वडा ८ र ११ का सदस्य तथा सामाजिक व्यक्तित्वहरुको सक्रिय सहभागिता रहेको थियो । तालिम हाम्रो शहर परियोजना अन्तर्गत बागमती सेवा समाज नेपाल, हरिवनको आयोजनामा, हेल्भेटास नेपालको आर्थिक तथा काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । आयोजक संस्थाका अनुसार तालिम आइतबार सुरु भई सोमबार सम्पन्न भएको हो ।
बागमती सेवा समाजले पछिल्लो आठ महिनादेखि हरिवन नगरलाई व्यवस्थित, सुन्दर र दिगो बनाउन पूर्वाधार विकास, सीप अभिवृद्धि, सुशासन, सूचना अधिकार र शहरी नीति २०८१ सम्बन्धी कार्यक्रममार्फत सरोकारवालालाई सशक्त बनाउन निरन्तर काम गर्दै आएको छ ।
No comments:
Post a Comment