सर्लाहीसहित मिथिलाञ्चलमा जितिया पर्व धूमधामका साथ मनाइँदै
मधेशदूत समाचारदाता
सर्लाही, भदौ २९
सन्तानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै सर्लाहीसहित सम्पूर्ण मिथिलाञ्चलका महिलाहरूले जितिया पर्व श्रद्धा एवं भक्ति भावका साथ मनाइरहेका छन् । यो पर्वलाई कठोर व्रतका रूपमा लिइन्छ, जसअन्तर्गत व्रतालु महिलाले २४ देखि ३६ घण्टासम्म पानीसम्म नखाई, थुक ननिलिकन उपवास बस्ने परम्परा रहिआएको छ।
तीन दिनसम्म मनाइने जितिया पर्व शनिबारदेखि सुरु भएको हो। पहिलो दिन व्रतालु महिलाले नुहाएर खाने (नहाय–खाय) विधि पूरा गरेका थिए भने दोस्रो दिन आइतबार बिहान चार बजेदेखि निराहार एवं निर्जला व्रत बसिरहेका छन्। सोमबार साँझ व्रत सम्पन्न गरिनेछ।
यस पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्त्व रहेको छ। कथा अनुसार राजा जितवाहनले एक महिलाका सातै छोरालाई दैत्यबाट मुक्त गरिदिएका थिए। त्यसपछि महिलाले उनको सम्झनामा उपवास सुरु गरेको विश्वास छ। संस्कृतिविद्हरूका अनुसार भविष्य पुराणमा उल्लेख भएअनुसार शालिवाहन राजाका पुत्र जितवाहनमाथि भगवान महादेवको विशेष कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलाले सन्तानको दीर्घायु प्राप्त गर्ने विश्वास गरिन्छ।
व्रत बस्नुअघि महिलाहरू माइती जाने र दिदीबहिनीबीच मिलेर सुखदुःख साटासाट गर्दै पर्व मनाउने चलन छ। बेलुकी सूर्यास्त अघि खोला, तलाउ वा पोखरीमा गई स्नान गरी पूजा गर्ने र सामूहिक रूपमा भेला भई जितवाहनको कथा सुन्ने परम्परा रहिआएको छ।
व्रतको दोस्रो दिन बिहानै उठेर दाजुभाइको संख्याअनुसार बेलको पात गाँसेर धनुष बनाउने, मासको परिकार (जाकुर) तयार गर्ने र पूजा सामग्रीसहित खोलामा गई नुहाउने गरिन्छ। त्यहाँ पूजा सम्पन्न गरेपछि घर फर्केर भान्सामा गाईको गोबरले लिपी दही, चिउरा, केरा, चिनी र दूधका परिकार ग्रहण गर्ने परम्परा छ। व्रतालु महिलाले परिकार खाइसकेपछि मात्र परिवारका अन्य सदस्यहरूले खाने चलन छ।
यस अवसरमा विभिन्न ठाउँमा जितियाको प्रतिमा राखी पूजा गर्ने, मेलाको आयोजना गर्ने र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ। मिथिला क्षेत्रमा पुत्र प्राप्तिका लागि हरेक महिलाले जीवनमा कम्तीमा एक पटक यो पर्व गर्नैपर्ने परम्परा रहेको जनविश्वास छ।
No comments:
Post a Comment