मनोज यादव---
सर्लाही, भदौ २५
सर्लाही जिल्लामा बढ्दो अशान्ति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ८:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि जिल्लाभर कर्फ्यु आदेश लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले स्थाानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु आदेश जारी गर्दै आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठकमा पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ।
सडकमा उत्पात, तोडफोड र आगजनीले जनजीवन असामान्य बन्दै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी सबै सुरक्षा निकायलाई जिल्लाभर उच्च सतर्कतासहित परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आम नागरिकलाई शान्त रहि आफ्नै घरमा सुरक्षित बस्न अपिल गर्नुभएको छ।
यसैबीच, बुधबार बिहान सदरमुकाम मलंगवा कारागारमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा अवस्था झन् तनावपूर्ण बनेको छ। कैदीबन्दीले कारागारभित्रै आगजनी गरेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो। कारागारको चारै दिशामा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा खटाइएको छ।
कारागारका कर्मचारी असरफ हुसैन गद्दीका अनुसार कैदीबन्दीले माथिल्लो भागमा आगजनी गरेपछि मलंगवा नगरपालिकाको दमकल प्रयोग गरी निभाउने काम भइरहेको छ। हाल सो कारागारमा तपस्वी रामबहादुर बम्जनसहित ३७० भन्दा बढी कैदीबन्दी रहेका छन्।
यसअघि मंगलबार लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती र बरहथवा नगरपालिकामा प्रदर्शनकारीले नगरपालिकाका कार्यालय र वडा कार्यालयमा आगजनी गरेका थिए। सरकारी गाडी, स्काभेटरदेखि लिएर जनप्रतिनिधिका निजी घरमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ। लालबन्दी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सवारी साधनसमेत जलेर नष्ट भएको छ।
त्यसैगरी, कबिलासी नगरपालिकास्थित प्रहरी चौकी विस्थापित हुनुपरेको छ भने नवलपुरको ट्राफिक प्रहरी कार्यालयमा तोडफोड भएको छ।
कर्फ्यु आदेश जारी भएपछि बुधबार पनि जिल्लाभर बजार, यातायात र शैक्षिक संस्था पूर्ण रूपमा ठप्प रहेका छन्। स्थानीयवासी घरभित्रै सीमित रहेका छन् ।


No comments:
Post a Comment