नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहको राजीना पछि, डा. सरोज बने कार्यवाहक सभापति
मधेशदूत समाचारदाता----
मलंगवा, भदौ ६ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। सिंहले भदौ ६ गते पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
सिंहले विसं २०५६ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हातबाट कांग्रेस सदस्यता लिएका थिए। दुई कार्यकाल उपसभापति भएर काम गरेका उनी २०७८ साल फागुन २९ गते जिल्ला सभापतिमा निर्वाचित भएका थिए।
राजीनामा पत्रमा उनले आफूले सधैं पार्टी र देशका लागि इमानदार रूपमा काम गरेको तर पछिल्लो समय अदालतको निर्णयका कारण अन्यायमा परेको महसुस भएकाले पद छोडेको उल्लेख गरेका छन्। उनले अदालतको निर्णयलाई सम्मान गर्ने बताए।
“मैले नियम, कानुन र पार्टीको हितलाई ध्यानमा राखी सभापति पदबाट राजीनामा दिएको हुँ,” पत्रमा सिंहले भनेका छन्। उनले औपचारिक जिम्मेवारी नभए पनि पार्टी र लोकतन्त्रको हितमा सक्रिय रहने प्रतिवद्धता जनाएका छन्।
अब नेपाली कांग्रेसको विधान अनुसार उपसभापति डा. सरोज कुमार कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि पनि सिंह अनुपस्थित हुँदा उनले यो भूमिका निर्वाह गरेका थिए।
डा. सरोजले सिंहको योगदानको प्रशंसा गर्दै भने, “सभापति सिंहले पार्टीलाई मजबुत बनाउन ठूलो योगदान दिनुभयो। म उहाँको कार्यशैलीलाई अनुसरण गर्दै सबै तह र तप्कासँग मिलेर अघि बढ्नेछु।”
No comments:
Post a Comment