Translate

Friday, August 22, 2025

सर्लाहीको ईश्वरपुरमा बाल विवाह अन्त्यका लागि कलाकार सहितको सडक र्याली निकालियो

 


मधेशदूत समाचारदाता---

सर्लाही, भदौ ६

   सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा  न–४ लाई बाल विवाहमुक्त बनाउन आज बिहान सडक र्याली निकालिएको छ।
  र्यालीमा ग्रामीण नारी उत्थान संघ, सेभ द चिल्ड्रेन र सिर्जनशील महिला क्लब भक्तिपुर–३ को संयुक्त आयोजनामा गरिएको र्यालीमा नगरप्रमुख मनोज कुमार आर्चाय, वडा अध्यक्ष प्रेम थिङ, निर्वाचित जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि, महिला समूह, टोल विकास संस्था लगायतको सहभागिता रहेको थियो।
  उक्त र्यालीमा सिन्धुली कलाघरका कलाकारहरुको टोलीले नाचगान र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै बाल विवाहका असरबारे सचेतना फैलाए। अध्यक्ष सुलोचना दाहालका अनुसार कम उमेरमा हुने विवाहका कारण शारीरिक समस्या, मानसिक तनाव, पढाइबाट वञ्चित हुने अवस्था लगायतका गम्भीर समस्या देखिने भएकाले समाजलाई सचेत बनाउन कार्यक्रम गरिएको हो।
 नेपालमा अझै पनि २० वर्ष भन्दा कम उमेरमै विवाह हुने प्रथा कायम छ। विभिन्न अध्ययनअनुसार मधेस प्रदेशमा मात्र करिब ४२ प्रतिशत विवाह २० वर्षभन्दा कम उमेरमै हुने गरेको पाइएको छ। यसलाई प्रदेशकै गम्भीर समस्याका रूपमा लिइएको छ।
  ईश्वरपुर नगरप्रमुख आर्चायका अनुसार बाल विवाह सभ्य समाजका लागि ठूलो चुनौती भएकाले यसलाई अन्त्य गर्न निरन्तर अभियान आवश्यक छ। ग्रामीण नारी उत्थान संघका सचिव सूर्य प्रसाद चालिसेले मधेसमा बाल विवाह उच्च दरमा हुने भएकाले अझ धेरै कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
 सरकारले कानुन बमोजिम विवाहको लागि न्यूनतम उमेर २० वर्ष तोके पनि ग्रामीण क्षेत्रमा अझै कम उमेरमै विवाह हुने चलन रोकिएको छैन। यसले विशेष गरी किशोरीहरुलाई शारीरिक, मानसिक र पारिवारिक समस्यामा पार्दै आएको छ।
  यसै कारण ईश्वरपुर र हरिपुर नगरपालिकालाई आधार मानेर ग्रामीण नारी उत्थान संघले बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्दै आएको जनाएको छ।


No comments:

Post a Comment