Translate

Thursday, August 28, 2025

प्रेम सम्बन्धको त्रासदीः रुवीको हत्यापछि आरोपी पासवानले पनि गरे आत्महत्या

 




मधेशदूत समाचारदाता
रौतहट, भदौ १२ गते।

    रौतहटमा प्रेम सम्बन्धकै विषयलाई लिएर घटेको घटनामा दुई जनाको ज्यान गएको छ । २६ वर्षीया रुवी साहको हत्या गर्ने लक्ष्मण पासवानको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।   गत शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा सुटकेसभित्र रुवीको शव फेला परेको थियो । गौरकै डेरामा हत्या गरी शवलाई ई–रिक्सामा राखेर सडकमा फालिएको अनुसन्धानबाट खुलेको छ ।
   हत्या अभियुक्त पासवानले आत्महत्याको प्रयास गर्नु अघि फेसबुकमा भिडियो पोष्ट गरेका थिए । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गर्दै, “रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ, अब बाँचेर के गर्नु” भनेका थिए । साथै, उनीहरूले विद्यालय कालदेखि प्रेम सम्बन्ध रहेको र पछि अदालतमा गएर विवाह गरेको समेत खुलाएका छन् । तर आर्थिक समस्या र पारिवारिक दबाबका कारण यस्तो कदम चालेको उनले भिडियोमै बताएका छन् । रुवी भारतको मुजफ्फरपुर घर भएकी थिइन्। माइती रौतहटको माधवनारायण नगरपालिका–२, माधवपुरमा रहेको थियो। उनी गौरमा डेरा लिएर ४ वर्षीया छोरीलाई पढाउँदै आएकी थिइन् । लक्ष्मणको घर पनि सोही टोलमै रहेको प्रहरीले जनाएको छ ।
  पासवानले हत्या पछि नहर छेउमा शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर, बुधबार साँझ उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
  यस घटनाले प्रेम सम्बन्ध र पारिवारिक दबाबबीचको असन्तुलनले कसरी डरलाग्दो रूप लिन सक्छ भन्ने प्रश्न समाजमा उठाएको छ।


No comments:

Post a Comment