राजमार्ग विस्तारको काम पुनः सूचारु
मधेशदूत समाचारदाता---
सर्लाही,भदौ १२ गते ।
वर्षाका कारण करिब तीन साता रोकिएको पूर्वपश्चिम राजमार्ग विस्तारको काम फेरि सूचारु भएको छ । सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पूर्वपश्चिम राजमार्ग विस्तार (चार लेन) बनाउने काम सूचारु भएको हो । सर्लाहीको फूलजोर र महोत्तरीको माइस्थानमा कलभर्ट निर्माणका लागि प्राविधिक र मजदुर परिचालन हुन थालेका छन् ।
राजमार्ग विस्तार अन्तर्गत अहिले ‘साइड क्लियर’ भएको स्थानमा स्कारभेटर लगाएर सम्याउने, माटो भर्ने र यसअघि लच्का (कज्वे) रहेको ठाउँमा कलभर्ट निर्माण गर्ने काम भइरहेको कमला–ढल्केबर–पथलैया सडक योजना पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलले जानकारी दिनुभयो । गएको वर्ष पुस १७ गतेदेखि कमला–पथलैया खण्डअन्तर्गत तीनवटा जिल्लामा सडक विस्तार भइरहेको छ ।
सन् २०२७ सम्ममा चार लेनको सडक निर्माण गर्ने उद्देश्य भएपनि रौतहट र बारा खण्डको सडक निर्माणका लागि ठेक्का लाग्न सकेको छैन् । केही साताअघि बाराको निजगढमा पर्ने बकैया खोलाको पुल निर्माणका लागि ठेक्का लागे पनि रौतहट र बारा जिल्लाको सडक बनाउन ठेक्का आह्वान हुन बाँकी रहेको आयोजना प्रमुख पौडेलले बताउनुभयो ।
कमला नदीदेखि पथलैयासम्म १३० किलोमिटर सडक चार लेनको बन्ने छ । सडकको दायाँबायाँका रुख व्यवस्थापनका लागि स्वीकृति आएको भनिए पनि रुख कटान कार्य अघि बढ्न सकेको छैन् ।
वन तथा भू–संरक्षण विभागले गएको असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन महोत्तरीको गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनालाई पत्राचार गरेको छ । आयोजनाले रुख कटानका लागि लामो समयदेखि प्रयास गर्दै आएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी खण्डको विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ ऋण सहयोगमा विस्तारको काम चलिरहेको हो । एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा सडकलाई छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तारोन्नतीको कामका लागि ठेक्का सम्झौता भएको छ ।
सडक विस्तारका लागि धनुषा र सिरहाको सीमा कमला पुलदेखि धनुषाको बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने धनुषाको बडहरीदेखि सर्लाहीको फूलजोर र फूलजोरदेखि सर्लाही र रौतहटको सीमा बागमती पुलसम्मको खण्डमा चाइनिज कम्पनी एसडब्ल्यु इजे र रसुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले काम गरिरहेका छन् ।
No comments:
Post a Comment