मधेश प्रदेशको आँखा स्वास्थ्य सेवामा समर्पित प्रेरणादायी व्यक्तित्व:अभिषेक रोशन
--- प्रेरणा---

सिरहा जिल्लाको लहान नगरपालिकामा अवस्थित सगरमाथा चौधरी आँखा अस्पताल आज नेपालकै एक प्रमुख आँखा उपचार केन्द्रका रूपमा चिनिन्छ। यस अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा अभिषेक रोशनको योगदान विशेष महत्त्वपूर्ण रहँदै आएको छ। उहाँको नेतृत्वमा यो संस्था केवल आँखा उपचार केन्द्रमा सीमित नभई ग्रामीण र पिछडिएका समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने अभियानमा अगाडि बढेको छ।
नेपाल नेत्रज्योति संघको २९औं केन्द्रीय अधिवेशनमा उहाँलाई प्रदान गरिएको “नेत्रज्योति सम्मान” उहाँको असाधारण योगदानको प्रमाण हो। यस सम्मानले मधेश प्रदेशमा आँखा स्वास्थ्य सेवाको स्तर उकास्न अभिषेक रोशनले निर्वाह गरेको अग्रणी भूमिकालाई औपचारिक मान्यता दिएको छ। रोशनको कार्यकालमा अस्पतालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उहाँको नेतृत्वमा सन् २०२३ मा मात्र अस्पतालले पाँच लाखभन्दा बढी बिरामीलाई उपचार गरेर ६२ हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेको तथ्य आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको प्रत्यक्ष प्रमाण हो। त्यति मात्र होइन, उहाँको अगुवाइमा सञ्चालन भएका ९६ वटा आँखा स्वास्थ्य शिविर र विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रमले हजारौँ बालबालिकाको दृष्टि जोगाएको छ। यसरी नि:शुल्क उपचार, सचेतनामूलक कार्यक्रम र स्वास्थ्य पर्यटन प्रवर्द्धनसम्ममा अस्पतालले महत्वपूर्ण योगदान पुर्याउन सकेको छ।
रोशनको विशेषता भनेकै व्यवस्थापनसँगै अनुसन्धान र नवप्रयोगमा सक्रिय रहनु हो। उहाँले उच्च संख्यामा मोतियाबिन्दु शल्यक्रिया गर्ने प्रणालीलाई व्यवस्थित गर्दै अस्पताललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नुभएको छ। विद्यालयस्तरीय दृष्टि परीक्षणमार्फत बालबालिकामा दृष्टि समस्या पहिचान गर्न उहाँले उल्लेखनीय योगदान पुर्याउनुभएको छ। नेपालमै मात्र सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उहाँको योगदानलाई प्रशंसा गरिएको छ। भारतको छत्तीसगढमा आयोजित कार्यक्रममा उहाँलाई प्रदान गरिएको “ACOIN आँखा स्वास्थ्य मसीहा सम्मान” उहाँको उपलब्धिको प्रत्यक्ष प्रमाण हो। समाजप्रतिको उत्तरदायित्वलाई सधैं अगाडि राख्ने अभिषेक रोशन केवल व्यवस्थापक मात्र होइनन्, उनी समुदायका अभियन्ता र प्रेरक व्यक्तित्व पनि हुन्। पहुँचविहीन वर्गलाई नि:शुल्क सेवा दिनु, आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नु र गुणस्तरीय सेवा सबैलाई उपलब्ध गराउनु उहाँको प्रमुख विशेषता बनेको छ। यही कारणले उहाँलाई आज मधेश प्रदेशको आँखा स्वास्थ्य क्षेत्रमा समर्पित र प्रेरणादायी व्यक्तित्वका रूपमा हेरिन्छ।
सर्लाहीको रामनगर गाउँपालिका खैर्वा पुर्ख्यौली घर भई सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ मा समेत घर भएका स्व.जवाहर लाल बर्मा(प्राधानाध्यापक)को दुईभाई छोरा मध्ये कान्छो छोरा अभिषेक रोशन झण्डै दुई दशकदेखि सगरमाथा चौधरी आँखा अस्पताल लहानको बरिष्ठ अस्पताल प्रबन्धकको कार्यभार सम्हाल्दै आइरहनुको छ । एक छोरी र एक छोराको पिता रोशन सन् २०२४/०२५ को लागि रोटरी क्लब अफ लहानको अध्यक्ष पदमा रहेर विभिन्न तरिकाले सामाजिक कार्यहरु गरेका छन् भने रेडक्रस अफ लहान र नेपाल अन्धा कल्याण संघ सिरहाको सल्लाहकारको रुपमा आफुले जाने बुझेका कुराहरुलाई सल्लाह सुझावको रुपमा दिंदै आउनुभएको छ। उहाँ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ।
No comments:
Post a Comment