Translate

Thursday, August 28, 2025

उत्पादन बृद्धिको लागि ट्रेन्च विधिबाट उखु खेति

 



 मनोज यादव---
सर्लाही,भदौ १२ । 

       उत्पादन बृद्धिका लागि सर्लाहीका किसानहरु ट्रेन्च(नाली)  विधिको प्रयोग गरि उखु खेती गर्न थालेका छन् ।सामान्य विधिको भन्दा ट्रेन्च प्रविधिको प्रयोग गरि गरिएको उखु खेतीबाट ३० देखि ४० प्रतिशतसम्म उत्पादनमा बृद्धि हुने भएपछि सर्लाहीका उखु किसानले यस विधिलाई अपनाउन थालेका हुन्। 
   यस विधिमा उखुलाई ट्रेन्च अर्थात् नालीमा रोप्ने गरिन्छ । यसरी रोपिएको उखुको बोट र जरा बढी विकसित बढी हुने भएकाले यसलाई घाम, पानी हावा तथा बाढीले समेत कम असर गर्दछ। नालीको बीचको भागमा तोरी, आलु, लहसुन, धनियाँ, मटरको खेती समेत गर्न सकिन्छ। यसरी उखु बाली सँगै अन्य बाली पनि लगाउन सकिने भएकाले यसबाट अतिरिक्त आम्दानी समेत हुने कबिलासीका किसान रामदिनेश रायले बताए । उनले ट्रेन्च विधि बाट गरिएको उखु खेतीमा सिंचाइको लागि खपत हुने  पानीको ५० देखि  ६० प्रतिशतसम्म बचत हुने गरेको बताए । किसान रायका अनुसार उखु बाँध्न सजिलो हुने, हावाहुरीबाट कम ढल्ने, रोग तथा किरा कम लाग्ने, उखुमा चिनीको मात्रा अधिक हुने र तौल समेत बढ्ने हुन्छ।
  तर सामान्य विधिबाट उखु लगाउँदा उमार शक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकोमा ट्रेन्च प्रविधिमा उखु खेती गरिएपछि उखुको उमार शक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको अर्का उखु किसान सलेमपुरका ठगा साहले बताए। 
  पछिल्लो समय ट्रेन्च प्रविधिको प्रयोग गरि उखु खेती गर्ने किसानहरु बढेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ। यस जिल्लाको उखु खेती गर्ने किसानहरुले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८, ९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोप्दै आएको केन्द्रले जानकारी दिए । 
    पुरानो परम्परागत विधिको तुलनामा आधुनिक ट्रेन्च प्रविधिको प्रयोग गरि गरिएको उखु खेतीमा उत्पादन दोव्बरले बृद्धि हुने गरेको छ।  थोरै बीउमा धेरै उत्पादन लिन सकिने भएकोले पछिल्लो समय सर्लाहीका उखु किसानहरु पनि यस विधिलाई अपनाउन थालेका छन्।
 

No comments:

Post a Comment