Translate

Thursday, August 28, 2025

नेपालमा जात व्यवस्था कहिले र कसरी भित्रियो ? एक विवेचना

  विचार /लेख



लेखक– समाजशास्त्री तथा अधिवक्ता राजेश पासवान


  जात व्यवस्था विश्वकै सबैभन्दा पुरानो सामाजिक विभाजन प्रणालीमध्ये एक हो । यसले मानिसलाई जन्मका आधारमा वर्गीकरण गरी सामाजिक, आर्थिक र राजनीतिक जीवनमा विभेद गर्ने संरचना निर्माण गरेको छ । नेपालमा पनि जात व्यवस्थाले समाजलाई गहिरो रूपमा प्रभावित पारेको छ । तर प्रश्न उठ्छ,नेपालमा जात व्यवस्था कहिले र कसरी प्रवेश गर्‍यो ? यस विषयमा ऐतिहासिक तथ्यहरूको अध्ययन गर्दा देखिन्छ कि नेपालमा जात व्यवस्था तीनवटा फरक–फरक दिशाबाट तीनवटा फरक समयमा भारतमार्फत प्रवेश गरेको छ ।
  नेपालको मधेस क्षेत्र आजभन्दा हजारौँ वर्षअघि उर्वर जमिनका कारण मानव बसोबासका लागि आकर्षक थियो । भारतबाट उपयुक्त जीविकोपार्जनको खोजीमा उत्तरतिर सर्ने क्रममा मानिसहरूले आफ्ना सांस्कृतिक मूल्य, धर्म र सामाजिक संरचनासहित यहाँ प्रवेश गरे । उनीहरूले भारतमा जस्तै जातीय संरचनालाई यहाँ पनि जोगाए ।
गौतम बुद्धको समय (ईसा पूर्व ६ औँ शताब्दी) सम्म आइपुग्दा लुम्बिनी आसपासमा जात व्यवस्था प्रचलनमा आइसकेको प्रमाण भेटिन्छ । बुद्धले स्वयं जात व्यवस्था र त्यसले निम्त्याउने असमानताको विरोध गरेका थिए । यसले देखाउँछ कि मधेस क्षेत्रमा भारतबाट सरेका मानिसहरूले जात व्यवस्थालाई यथावत् बोकेर ल्याएका थिए । त्यसैले आज मधेस/तराईको जात संरचना भारतसँग मिल्दोजुल्दो छ ।


दोस्रो चरणमा जात व्यवस्था भारतको वैशालीबाट आएका  लिच्छविहरूमार्फत बाग्मती उपत्यकामा प्रवेश गरेको पाइन्छ । ई. संवत् १७१ देखि २०० को बीचमा लिच्छविहरूले किरात शासकहरूलाई अपदस्थ गरी उपत्यकामा शासन सुरु गरे । लिच्छविहरूले यहाँ १८ जातको व्यवस्था गरी जात व्यवस्थाको जग बसाले । ई. संवत् ६०० सम्म आइपुग्दा उपत्यकामा छुवाछुत र जातीय विभाजन स्पष्ट रूपमा देखा पर्न थाल्यो । त्यसपछि जनसङ्ख्या वृद्धि र पेशागत विभाजनसँगै जात संरचना कठोर हुँदै गयो । जयस्थिति मल्ल (१३६०–१३९५) को शासनकालमा समाजलाई ६४ जातमा विभाजन गरी कानुनी रूपमा लागू गरियो । यसरी उपत्यकामा जात व्यवस्था संस्थागत र कठोर बन्यो ।
तेस्रो चरणमा आजको पश्चिम नेपालको पहाडी क्षेत्रमा जात व्यवस्थाको प्रवेश भएको पाइन्छ । प्रारम्भमा त्यहाँका खस समाज मस्टोपूजक थिए र जात व्यवस्थाको प्रचलन थिएन । तर ई. संवत् १० औँ शताब्दीदेखि १४ औँ शताब्दीसम्म भारतमा भएका विदेशी आक्रमणका कारण धेरै वैदिक आर्यहरू पश्चिम नेपालको पहाडी क्षेत्रमा पलायन भए । यी वैदिक आर्यहरूले आफ्नो धर्म र जातीय संरचना बोकेर ल्याए र खस शासकहरूसँग मिलेर खस समाजलाई जात व्यवस्थाभित्र ढाल्ने काम गरे । यसरी खसहरूलाई हिन्दू धर्मअन्तर्गत सङ्गठित गर्दै जात व्यवस्थाको सिद्धान्त लागू भयो । पछिल्लो समयमा गोर्खाका राजा राम शाहले समाजलाई ३६ जातमा कानुनी रूपमा विभाजन गरे । यसरी खस समाजमा पनि जात व्यवस्थाले गहिरो जरा गाड्यो र पूर्वतिर विस्तार हुँदै गयो । यी तीनवटै प्रवेश मार्ग र विभिन्न कालखण्डमा भएका कानुनी व्यवस्थाका कारण नेपालमा जात व्यवस्था मजबुत हुँदै गयो । मल्लकालीन कठोर विभाजन र पछि शाह तथा राणा शासकहरूले पनि यसलाई प्रोत्साहन गरे । दीर्घकालसम्म जात व्यवस्थाले नेपाली समाजलाई टुक्र्याइराख्यो, जसको असर आजसम्म देखिन्छ ।
 जात व्यवस्था केवल इतिहासको पृष्ठ मात्र होइन, आजको समाजमा पनि विभेद र असमानताको मुख्य आधार बनेको छ । यसलाई अन्त्य गर्न विभिन्न व्यावहारिक कदमहरू चाल्न आवश्यक छ । म आफ्ना सुझावहरू यसप्रकार प्रस्तुत गर्दछु :
 अन्तरजातीय विवाहलाई सामाजिक मात्र होइन, राज्यको औपचारिक प्रोत्साहन आवश्यक छ । यस्तो विवाह गर्ने जोडी र उनीहरूको सन्तानलाई सरकारी रोजगारी, शिक्षा वा अन्य अवसरमा प्राथमिकता दिन सकिन्छ । यसले जात विभाजन तोड्न मद्दत गर्छ ।
विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यपुस्तकमा जातीय विभेदको आलोचना गर्ने, समानताको महत्व सिकाउने सामग्री अनिवार्य राखिनुपर्छ । यसले बालबालिकामा सुरु देखिनै जातीय समानताको चेतना जगाउँछ ।
मानिसहरूले आफूलाई ब्राह्मण, क्षत्रिय वा अन्य जातले परिचय दिनु बन्द गर्नुपर्छ । “म नेपाली हुँ” भन्ने पहिचानलाई प्राथमिकता दिनुपर्छ । त्यस्तै, “यादब कलेज”, “साह पाठशाला”, “आर्य कलेज” जस्ता जातीय नाम भएका संस्थालाई राज्यले अनुदान वा मान्यता दिनु हुँदैन ।
सरकारले विभिन्न भाषामा जातविरोधी पुस्तिका, किताबहरू प्रकाशित गरी नि:शुल्क वितरण गर्नुपर्छ । रेडियो, टेलिभिजन र अन्य सञ्चार माध्यममार्फत जातीय विभेदविरोधी सन्देशलाई निरन्तर प्रसारण गर्नुपर्छ ।
जातविरोधी पुस्तक वा अनुसन्धान गर्ने लेखकलाई पुरस्कार वा सम्मान प्रदान गर्नुपर्छ । यसले यो विषयमा थप ज्ञान उत्पादनलाई प्रेरित गर्छ ।
अदालत, विद्यालय वा अन्य दर्ता कागजातबाट जात उल्लेख गर्ने प्रथा बन्द गर्नुपर्छ । कसैलाई जात सोध्नु उसको व्यक्तिगत आय सोध्ने जत्तिकै असभ्य मानिनुपर्छ ।
इतिहासभर विभेदमा पारिएका समुदायलाई विशेष अवसर र सुविधा उपलब्ध गराउनुपर्छ । शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा विशेष आरक्षण वा सहयोगको व्यवस्था गरेर मात्र उनीहरूलाई समान अवसर दिन सकिन्छ  । उच्च जातका युवाहरूको अग्रसरता
तथाकथित उच्च जातका केटा–केटीहरूले पिछडिएका जातसँग विवाह गर्न सक्ने साहस देखाउनुपर्छ । यसले सामाजिक मिश्रणलाई गति दिनेछ र विभेद कम गर्नेछ । विभिन्न ठाउँमा अन्तरजातीय विवाह चाहने वा विभेद तोड्न इच्छुक युवाहरूलाई भेला गर्ने सम्मेलन हुनुपर्छ । यसले उनीहरूलाई एकअर्काबाट प्रेरणा मिल्छ र डर हट्छ ।
  नेपालमा जात व्यवस्था भारतबाट विभिन्न कालखण्डमा—मधेस/तराई, लिच्छवि शासनकालीन उपत्यका र खस समाजमार्फत पहाडी क्षेत्रमा—प्रवेश गरेको देखिन्छ । जयस्थिति मल्लदेखि राम शाहसम्मका शासकहरूले यसलाई संस्थागत गर्दै गए । यसको परिणामस्वरूप नेपाली समाज शताब्दीयौँसम्म विभाजन र विभेदको चपेटामा रह्यो । आज जातीय विभेद कानुनले निषेध गरे पनि व्यवहारमा अझै कायम छ । यसलाई अन्त्य गर्न केवल कानुनी प्रावधान मात्र पर्याप्त छैन, सामाजिक चेतना, अन्तरजातीय घुलमिल, शिक्षा र व्यवहारगत सुधार अपरिहार्य छ । नेपालले “म नेपाली हुँ” भन्ने साझा पहिचानलाई व्यवहारमा उतार्न सके मात्र जातिवादको अन्त्येष्टि गर्न सकिन्छ ।


No comments:

Post a Comment